कतारबाट स्वदेश फर्कंदा अरुको बहुमूल्य वस्तु नबोक्न दूतावासको आग्रह

काठमाडौं । वैदेशिक रोजगारीबाट स्वदेश फर्कंदा अरुको बहुमूल्य वस्तु नबोक्न कतारस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

वैदेशिक रोजगारमा रहेकाहरु स्वदेश फर्कंदा विभिन्न व्यक्तिले सुनलगायतको भरिया बन्ने गरेको समाचार बेलाबेला आउने गरेको छ । यसरी अरुको सुन बोक्दा समस्या परेको जनाउँदै दूतावासले एक सूचना जारी गर्दै अरुको भरिया नबन्न आग्रह गरेको हो ।

कतारमा रहँदा आफूले खरिद गरेको सुनलगायतका बहुमूल्य वस्तुहरु नेपालको प्रचलित कानुनले तोकेको परिमाणभित्र नेपाल लैजाँदा उक्त वस्तुहरुको खरिद बिल्सँगै राखेर मात्र नेपाल लैजानसमेत दूतावासले आग्रह गरेको छ ।

“दोहाबाट काठमाडौं यात्रा गर्दा खरिद बिल साथमा नरहेका वा आफ्नो स्वामित्व प्रमाणित नहुने तथा कानुनले तोकेको परिमाणभन्दा बढी यस प्रकारका बहुमूल्य वस्तुहरु बोकेको पाइएमा त्यस्तो सामान जफत हुनाको साथै कानुनी कारबाहीको भागीदारसमेत हुनुपर्ने हुँदा जुनसुकै बहानामा भए पनि अन्य व्यक्तिको सामानहरु लिएर यात्रा नगर्नु हुन सबैमा सचेत गराइन्छ,” उक्त विज्ञप्तिमा भनिएको छ ।

Top