तराईका जिल्लामा हुन्डी कारोबारी सक्रियः हुन्डीमा सिन्डिकेट गर्ने समूह ८३ लाखसहित समातिए Technology by Remit Khabar - 06/01/201906/01/20190 काठमाडौँ। भारतीय सीमा जोडिएका तराईका जिल्लाहरूमा ठुलो मात्रामा हुन्डीको कारोबार हुने गरेको खुलेको छ। २ नम्बर प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले हुन्डीको कारोबार गर्ने गिरोहलाई नियन्त्रणमा लिएको प्रदेश प्रहरी प्रमुख डिआइजी हरिबहादुर पालले जानकारी दिए। भारत बधुवनी बासो पट्टी बस्ने ४० वर्षीय सन्तोष महतो, नरेश महतो, जनकपुर उपमहानगरपालिका १९ बस्ने विजय यादव र ३८ वर्षीय मोख्तार अहमदलाई नियन्त्रणमा लिएको हो। अहमद कलेक्सन सु सेन्टरका सञ्चालक समेत हुन्। डिआइजी पालले भने, ’उनीहरूले तराईमा हुन्डीको सिन्डिकेट नै गरेर कारोबार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। थप अनुसन्धान गर्दै छौँ।‘ उनीहरूको साथबाट प्रहरीले ८३ लाख ५७ हजार रुपैयाँ, ३० थान चेक र हुन्डी कारोबारको लागि प्रयोग भएका हिसाबकिताब भएको कापीसमेत बरामद गरेको छ। कसरी हुन्छ हुन्डीको कारोबार नेपाल बाहेक भारत,चीन, अस्ट्रेलिया, दुबईलगायत देशहरूमा हुण्डीको कारोबार हुने गरेको छ। उनीहरूले १ लाख रुपैयाँको हुन्डी गरेबापत सेवाग्राहीबाट २ हजार रुपैयाँ लिन गरेको पाइएको छ। हुन्डी कारोबारीहरूको दुवै देशमा एजेन्ट हुन्छन्। पैसा पठाउनु पर्ने व्यक्तिले पैसा बुझाएपछि कारोबारीले केही अंकको कोड नम्बर दिन्छन्। उनीहरूले त्यही नम्बर लिएर अर्को देशमा भएको एजेन्टलाई भेटेपछि पैसा प्राप्त गर्छन्। उनीहरूले सूचनालाई गोप्य बनाउन ह्वाट्सएप र विच्याट प्रयोग गर्ने गरेका छन्।