आन्तरिक राजस्व कार्यालयको कर इ–सेवाबाटै भुक्तानी गर्न सकिने

करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व इ–सेवादेखि नै दाखिला (भुक्तानी) गर्न सकिने भएको छ।

अबदेखि करदाताले आन्तरिक राजस्व विभागअन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इ–सेवाबाटै बुझाउन सकिने भएको हो। इ–सेवामा यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झञ्झटबाट मुक्ति मिलेको छ।

इ–सेवा एकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सकिनेछ भने इ–सेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इ–सेवा जोन तथा इ–सेवा पोइन्टबाट कर भुक्तानी गर्न सकिनेछ।

इ–सेवामार्फत कर भुक्तानी गर्न सकिने सुविधाबारे इ–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने, ‘सरकारले आफ्नो नीति तथा कार्यक्रममा सबै सरकारी क्षेत्रको भुक्तानीलाई नगदरहित बनाउने उद्देश्य राखेको थियो। सरकारको यो नीतिलाई हामीले कार्यान्वयन गर्ने अभियानमा छौँ।’

यसै सम्बन्धमा सबै सरकारी कार्यालयको भुक्तानीलाई पनि डिजिटल भुक्तानीको माध्यममा जोड्दै नगदरहित अभियानलाई अगाडी बढाएको उनले बताए।

हाल यो सेवा इ–सेवाको वेब भर्जनमा मात्र उपलब्ध भए पनि निकट भविष्यमा सिधै मोबाईलबाट भुक्तानी गर्न सकिने सुविधा थप्ने कम्पनीको भनाइ रहेको छ।

Leave a Reply

Top