मनिग्राममार्फत दुईसय बढी देशबाट ई–सेवा मनि ट्रान्सफरको सेवा सुरु

काठमाडौं । मनिग्राम इन्टरनेसनल र ई–सेवा मनि ट्रान्सफरबीच विप्रेषण भुक्तानी सेवाका लागि सम्झौता भएको छ । अन्तरदेशीय विप्रेषण सेवा प्रदायकसँग ई–सेवाको सहकार्यसँगै मनिग्रामका २ सयभन्दा बढी देशका सेवाग्राहीले नेपालको बैंक खातामा रकम जम्मा गर्न सक्ने भएका छन् ।

मनिग्राममार्फत पठाएको नगद विप्रेषण ई–सेवा मनि ट्रान्सफरको देशभर रहेका ८ हजारभन्दा बढी एजेन्ट सञ्जाल बाट पनि भुक्तानी लिन सकिने भएको छ । यस्तै मग्राममार्फत ई–सेवा खाता (मोबाइल वालेट) मा पनि रकम पठाउने व्यवस्था गरिने बताइएको छ ।

साझेदारीको आधारमा मनिग्राम र ई–सेवा मनि ट्रान्सफरले धेरै नेपाली बसोबासमा रहेका खाडी मुलुक ,संंयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, बेलायतलगायत २ सयभन्दा बढी मुलुकका सेवाग्राहीलाई रकम पठाउन थप सहज हुनेछ ।
मनिग्राम इन्टरनेसनल अन्तरदेशीय विप्रेषण सेवाको क्षेत्रमा विश्वकै अग्रणी कम्पनी हो । मनिग्राममार्फत २ सय भन्दा बढी देशबाट पैसा पठाउन सकिनेछ भने ९० भन्दा बढी देशबाट डिजिटल माध्यमबाटै रकम पठाउन र भुक्तानी लिन सकिनेछ ।

Top