मेगा बैंकले हार्‍यो कर्मचारी संग अनन्त :श्रम अदालतले दियो न्याय शम्भु थापालाई

१३ चैत, काठमाडौं । मेगा बैंकबाट पीडित एकजना वरिष्ठ प्रबन्धक शम्भुबहादुर थापालाई श्रम अदालतले न्याय प्रदान गरेको छ । मेगा बैंककाे स्थापनादेखि कार्यरत थापालाई २०७१ माघ ७ गते व्यवस्थापन पक्षले विभिन्न काल्पनिक आरोप लगाएर निलम्बनमा राखेको थियो ।

सो बैंककी तत्कालिन प्रमुख संचालन अधिकृत हाल प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीको जाहेरीमा थापालाई पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको थियो । बैंकिङ कसुरमा पक्राउ परेका थापालाई पछि जिल्ला, उच्च अदालत हुँदै सर्वोच्च अदालतले निर्दाेष ठहर गर्दै सफाई दिएको थियो ।

अदालतले निर्दोष ठहर गरेपछि जागीरमा पुर्नबहाली गर्नुपर्नेमा मेगा बैंकले विभिन्न बहाना झिकी उनलाई पुर्नबहाली गर्न मानिरहेको थिएन । अदालतको आदेश बमोजिम सेवा सुविधा पाउँ भनी थापाले निवेदन दिंदासमेत बैंक व्यवस्थापनले बेवास्ता गरेको थियो ।

बरु दवावमा दिएको राजीनामा फिर्ता लिईसकेपछि पनि उल्टै ब्याकडेटमा उनको राजीनामा स्वीकृत भएको भन्दै बैंक कर्मचारीले पाउने सुविधावापत लिएको व्यक्तिगत कर्जा र अटो लोन नतिरेको भन्दै घरजग्गा हडप्ने उद्देश्यले लिलामी निकालेको थियो । बैंकले पटकपटक अदालतको फैसला कार्यान्वयन गर्न आनाकानी गरेपछि बैंकर थापा पुर्नबहाली र सेवासुविधाको माग गर्दै श्रम अदालत गएका थिए ।

श्रम अदालतले यही चैत ११ गते थापालाई बैंकले निलम्बन अवधिको पूरै तलव भत्तासहित सबै सुविधा उपलव्ध गराउन आदेश दिएको छ ।न्यायाधीश रामप्रसाद ओलीको नेतृत्वमा रहेको अदालतको इजलाशमा न्यायाधीशहरु प्रेम राई र निशा बानियाँ रहेका छन् । श्रमले दिएको आदेशमा भनिएको छ– निज थापालाई प्रहरीले पक्राउ गरेको मिति २०७१ माघ ७ गतेदेखि ०७७ साल चैत ११ गतेसम्मको सबै तलव भत्ता लगायत सुविधा उपलव्ध गराउनू ।

लामो समय बैकिङ क्षेत्रमा क्रियाशील थापा कुशल व्यवस्थापक हुन् । तर बैंक व्यवस्थापन तहका केही उच्च पदस्थहरुको स्वार्थ बाझिएपछि कोपभाजनमा परेका थापालाई फसाउने उद्देश्यले उनीमाथि मुद्धा दायर भएको थियो । उनीमाथि बैकिङ कसुर र सरकारी छाप कीर्ते जालसाजीको मुद्धा लगाइएकोमा दुबैमा उनले सफाई पाइसकेका छन् ।

जिल्ला, उच्च र सर्वाेच्च तीनै तहबाट थापाले सफाई पाउँदासमेत मेगा बैंक व्यवस्थापनले पुर्नबहाली नगरी अन्यायपूर्वक सेवा सुविधासमेत उपलव्ध गराएको थिएन । व्यवस्थापन पक्षले फैसला कार्यान्वयनमा आनाकानी गरेपछि मात्रै उनी श्रम अदालत गएका थिए । श्रम अदालत गएपछि व्यवस्थापन पक्ष थप आक्रोशित भई उनको सुविधामा प्राप्त सवारी साधनसमेत सिज गरिएको थियो । बैंकको बाँकी किस्ता तिर्छु भन्दा समेत पूर्वाग्रह साँधी उनको गाडी कवाडी बनाउने हेतुले लामो समय थन्क्याइएको थियो ।

मेगा बैंकमा आउनुअघि उनी नबिल बैंकमा क्रियाशील थिए । मेगा बैंककै केही उच्च पदस्थले उनीमाथि रीसइबी साँधेपनि अधिकांश कर्मचारी भने उनीमाथि अन्याय भएको भन्दै थापाको पक्षमा आवाज उठाउँदै आएका थिए । अब भने थापाले बल्ल न्याय पाएको भन्दै अधिकांश कर्मचारीले खुशी व्यक्त गरेका छन् । व्यवस्थापनले जथाभावी आरोप लगाएर मन नपर्ने कर्मचारीको क्यारिअर बिगार्ने कामको अन्त्य भएको भन्दै आम कर्मचारी खुशी भएका छन् ।

Top