बैंक नखुल्दा समस्या

परासी : पश्चिम नवलपरासीमा रहेका बैंक तथा वित्तीय संस्था हरेक दिन पालो मिलाएर खुल्ने गरेका छन्। सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थितिलाई छिचोल्दै आएका सर्वसाधारणलाई बैंक खुल्ने बार र समय थाहा नहुँदा त्यसै फर्केर जाने गरेका छन्। लकडाउनका कारण भीड हुने भएकाले जिल्लामा रहेका अधिकांश बैंक फरकफरक बार मिलाएर दैनिक खुल्ने गरेका हुन्। एक दिनमा बढीमा दुईवटा बैंकले कारोबार गर्ने गरेका छन्।

केही बैंक महिनामा २ दिन खुल्ने गरेका छन्। केन्द्रीय तालिका अनुसार नै बैंकले त्यसरी बार मिलाएर कारोबार सुरु गरेको शाखा प्रबन्धकले बताएका छन्। सरावल गाउँपालिकाबाट शुक्रबार रकम झिक्न प्रभु बैंक परासीमा आएका राजकिशोर चौधरीले बैंक बन्द देखेपछि फर्किएको बताए।

उनले भने,‘पैसा नभएर आवश्यक सामान किन्न पाइएको छैन। रकम झिक्न बैंक जान लागेको भन्दा प्रहरीले फर्काइदिन्छन्। बहाना बनाएर बल्ल तल्ल परासी आए। तर बैंक बन्दले रकम लिन पाइएन।’ बैंकले खुल्ने बार र समयबारे ग्राहकलाई सार्वजनिक सूचना मार्फत जानकारी गराए सहज हुने उनको भनाइ छ।
केन्द्रीय सर्कुलरअनुसार हप्ताको दुई दिन ग्राहकलाई सेवा दिने बैंक अफ काठमाण्डू परासी शाखा प्रबन्धक मदन गौतमले बताए। महालक्ष्मी विकास बैंक परासी शाखाका प्रबन्धक कृष्णबहादुर गुरुङले महिनामा २ दिन बैंक खुलेर सेवा दिँदै आएको बताए।
बन्द गर्न सीडीओको निर्देशन

जिल्लामा रहेका बैंक तथा वित्तीय संस्थामध्ये सबैभन्दा बढी ग्राहक राष्ट्रिय वाणिज्य बैंक परासी शाखामा आउने गरेका छन्। बैंकले एक दिन बिराएर कारोबार गर्दै आएको थियो। तर पछिल्लोपटक भीड बढेपछि प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले कारोबार बन्द गर्न निर्देशन दिएका हुन्।
बैंकमा आउने भीड नियन्त्रण गर्दै १०र१५ जना ग्राहकलाई भित्र बोलाएर सेवा दिँदै आएको शाखाका सहायक प्रबन्धक कृष्ण प्रसाद अर्यालले बताए। बैंकमा २ सय देखि ३ सय ग्राहक दैनिक सेवा लिन आउने गरेका छन्।

Top