‘बैंकले दिएको सहुलियत सहकारीले पनि दिनुपर्छ’

भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानले बैंक तथा वित्तीय संस्थाका ऋणीलाई दिएको सहुलियत सहकारीका सदस्यहरूले पनि पाउनुपर्ने बताएका छन् । वित्तीय कारोबार गर्ने सहकारीहरू पनि बैंकिङ प्रणालीभित्र नै रहेकाले बैंकले छुट दिँदा सहकारीहरूले पनि दिनुपर्ने बताएका हुन् ।
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्तीय संस्थाले चैत महिनाको ऋणको किस्ता भुक्तानी गर्दा ब्याजमा १० प्रतिशत छुट दिएका छन् । यसैगरी असारसम्म किस्ता तिर्दा जरिवाना नलाग्ने व्यवस्था गरेका छन् । तर, अहिलेसम्म एकाध सहकारीहरूले मात्र ब्याजदरमा छुट दिने घोषणा गरेका छन् । यसैगरी नियामक निकाय सहकारी विभागले पनि यसबारेमा कुनै निर्देशन दिएको छैन ।

नेपाल सहकारी पत्रकार समाजले गरेको भिडियो कन्फेरेन्समा सचिव न्यौपानेले १६ प्रतिशत सीमा निर्धारण गरिएको र संस्थाहरूले अहिलेको अवस्थामा ब्याजदर घटाएर सदस्यहरूलाई राहत दिनुपर्ने बताए । “ब्याजदर घटाउने विषय सहकारी संस्थाहरूको आफ्नै जिम्मेवारी हो” उनले भने, “बैंकबाट ऋण लिनेले सहुलियत पाउदा सहकारीहरूले पनि पाउनुपर्छ ।” बैंक तथा वित्तीय संस्थाले सरकारबाट कुनै राहत पाउँछन भने सहकारी संस्थाले पनि पाउनुपर्छ भनेर हामी पहल गर्ने उनले बताए ।
कोरोनाका कारण विश्व श्रम बजारबाट समेत लाखौं नेपाली फिर्ता हुने आकलन भइरहेको बेला सरकारले सहकारीमार्फत स्थानीय तहमा लाखौंको संख्यामा रोजगारी सिर्जना गर्ने योजना अघि सार्ने भएको छ । सरकारले आउँदो बजेटमार्फत हरेक स्थानीय तहमा उत्पादन बढाउने र प्रशस्त रोजगारी सिर्जना हुने कार्यक्रम ल्याउन लागेको सचिव केदार न्यौपानेले बताए ।
वैदेशिक रोजगारीबाट फर्केकालाई समेत सहकारीमा आवद्ध गराइ कृषि क्रान्ति गरिने बताए । अहिले तीन खर्ब भन्दा बढीको कृषिजन्य सामग्री आयात भइरहेको छ । कोरोनाभाइरस (कोभिड)१९०ले देश बनाउने मौका दिएको भन्दै सचिव न्यौपानेले स्थानीय तहमा सम्भाब्याता क्षेत्र पहिचान गरेर उत्पादन बढाइने उनले बताए । मन्त्रालयले सरोकारवालासँग छलफल गरि बजेट मार्फत आकर्षक प्याकेज ल्याउने तयारी भएको जनाएका छन् । उनले उत्पादन र बजारीकरणमा जाने सहकारीलाई मल, बीउ लगायतका विविध प्याकेजमा सहुलियत दिने र सहुलियत कृषि ऋण प्रदान गर्न लबिङ गर्ने बताए ।
सहकारीले नाफामात्र नहेरी सदस्यको सुरक्षा र उत्थानमा ध्यान दिनुपर्ने सचिव न्यौपानेको भनाइ छ । कोरोनाको जोखिमका बेला सहकारीले घरदैलो सेवा दिन सक्नुपर्ने बताए । सदस्यको घरमा चुलो नबलेको भए सहकारीले चासो राख्नुपर्ने र समस्या सम्बोधन गर्नमा ध्यान दिनुपर्ने बताए ।

Top