स्पेन र इटालीमा लक डाउन विस्तारै खुकुलो पारिंदै

काठमाडौं स् स्पेन र इटालीमा कोरोना भाइरस महामारीबाट मृत्यु हुनेको संख्या घट्दै जान थालेपछि दुवै देशले लक डाउन खुकुलो पार्ने प्रयास गरिरहेका छन् । पछिल्लो २४ घण्टामा दुवै देशमा ज्यान गुमाउनेको संख्या १ महिनायताकै कम भएपछि त्यहाँ लगाइएको लक डाउन खुकुलो बनाइने खबरहरु आउन थालेका छन् । स्पेनको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ आइतबार २८८ जनाको मृत्यु भएको छ ।

मृत्युदरहरु पछिल्ला दिनमा घट्न थालेको देखिएको छ । कोरोनाका कारण स्पेनमा अहिलेसम्म २३ हजार १९० जनाको मृत्यु भइसकेको छ । त्यहाँ ६ हप्तापछि बालबालिकालाई घरबाट बाहिर निस्कने अनुमति दिइएको छ । त्यससँगै आइतबार स्पेनमा कैयौं बालबालिकाहरू आफ्नो घरबाट बाहिर निस्किएका थिए । लक डाउन खुकुलो पार्दै स्पेनले १४ वर्षभन्दा कम उमेरका बालबालिकालाई दिनको १ घण्टाका लागि घर बाहिर जान अनुमति दिएको छ ।

यता, इटालीका प्रधानमन्त्री जुजेपे कोन्टेले दोस्रो चरणको लक डाउन खुकुलो पार्ने क्रम अब सुरु गरिने बताएका छन् । उनले मे ४ तारिखदेखि दैनिक जीवनका कतिपय प्रतिबन्धहरू हटाइने पनि बताएका छन् । उनका अनुसार अब मानिसहरूले मास्क लगाएर सानो संख्यामा आफन्तहरूको घरमा जान पाउने बीबीसीले लेखेको छ । कोरोनाबाट इटालीमा अमेरिकापछि सबैभन्दा धेरै २६ हजार ६४४ जनाको मृत्यु भएको छ ।

Top