कोभिड १९ : न्युजिल्याण्डमा खुल्यो रेस्टुरेन्ट, व्यक्तिगत दुरी पालना गर्दै नजिकका आफन्तसँग भेट्न सकिने

काठमाण्डौ – न्युजिल्याण्डको लकडाउनको प्रतिबन्धमा केही राहत दिएको छ र उच्च जोखिमबाट एक स्थान तल झरेको छ ।

अब न्युजिल्याण्डमा तेस्रोस्तरको लकडाउन लगाइएको छ । मानिसहरु अझै पनि घरभित्रै रहनुपर्नेछ तर उनीहरुले सामाजिक प्रतिबन्धको पालना गर्नै आफ्ना नजिकका आफन्तसँग भेटघाट गर्न सक्छन् र आइसोलेशनमा रहेकाहरुलाई सहयोग गर्न सक्छन् ।

सम्भव भएसम्म घरबाटै काम गर्न भनिएको छ । यदि पसलहरु कन्ट्याकलेस सेवा प्रदान गर्न सक्छन् भने उनीहरुले खोल्न अनुमति पाउँछन् ।

रेस्टुरेन्टमा अहिलेसम्म मात्र अनलाइन डेलिभरी सुविधा थियो, अब खाना प्याक गरेर पनि लैजान सकिन्छ । मानिसहरु आफ्ना घरका व्यक्ति र नजिकका आफन्तसँग पार्क र विचमा जान सक्छन् ।

विद्यालय खोल्न सकिन्छ तर उनीहरुले व्यक्तिबीचको दुरी र सामाजिक प्रतिबन्धको पालना गर्नुपर्छ । ठूलो सङ्ख्यामा मानिसहरुलाई जम्मा हुन र सार्वजनिक स्थान खुल्ने सम्बन्धमा अझै प्रतिबन्ध लगाइएको छ ।

सोमबार मात्रै न्युजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डेर्नले देशले कोरोना भाइरसलाई जितेको तर सतर्कता भने अपनाउनुपर्ने बताएकी थिइन् ।

न्युजिल्याण्डमा अहिलेसम्म एक हजार चार सय ७२ जनामा कोरोना सङ्क्रमण देखिएकोमा १९ जनाको ज्यान गएको छ । महामारीमा पनि कुशल नेतृत्व गर्ने सकेको भन्दै न्युजिल्याण्डकी प्रधानमन्त्रीको प्रशंसा भइरहेको छ ।

Top