२०२१ को डिभी नतिजाको मिति एक महिना सर्‍यो, २०२० का अन्योलमा

काठमाडौं-कोरोना भाइरस संक्रमणका कारण अमेरिकाले सन् २०२१ को डाइभर्सिटी भिसाको नतिजा सार्वजनिक गर्ने मिति सारेको छ। नियमित तालिका अनुसार मे ५ मा डिभी नतिजा सार्वजनिक हुने गरेको थियो। विदेश मन्त्रालयका अनुसार सो मिति सरेर जुन ६ पुर्‍याइएको छ।

कोरोनाका कारण अमेरिकाले ग्रिनकार्डको नयाँ आवेदन २ महिनाका लागि स्थगित गरिसकेको छ। विभिन्न देशमा रहेका अमेरिकी दूतावास बन्द भएका कारण नयाँ भिसा जारी गर्ने कामसमेत अहिले बन्द छ।

सन् २०२० का अन्योलमै

अमेरिकाले नयाँ भिसा दिनेक्रम रोकेकाले सन् २०२० को डिभी चिट्ठा परेकाहरुको प्रक्रिया रोकिएको छ। प्रक्रिया रोकिँदा नेपालसहितका डिभी प्रक्रियामा रहेका अन्य देशकाहरु समेत अन्योलमा परेका छन्। नेपालमा क्रमसंख्या १३ हजार ५ सय रहेकाहरुको दोस्रो पत्र आउनेक्रममा रहे पनि भिसा लागेका र अन्तर्वार्ता तोकिएकाहरुको समेत सबै प्रक्रिया रोकिएको छ।

डिभी प्रक्रिया अनुसार हरेक वर्ष अमेरिकाले ५० हजारलाई स्थायी बसोबासको अनुमति दिने गरेको छ। यसका लागि सेप्टेम्बरसम्ममा भिसा प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ। कोरोना संक्रमणका कारण सबै प्रक्रिया रोकिँदा अहिलेसम्म विश्वभर १० हजार हाराहारीले मात्र स्थायी बसोबासको अनुमति पाएका छन्। अझै ४० हजारले स्थायी बसोबासको अनुमति पाउन बाँकी छ। सबै प्रकारका भिसा प्रक्रिया रद्ध गरे पनि डिभीअन्तर्गतको भिसा प्रक्रियाको अवधि बढ्ने-नबढ्ने निश्चित छैन।

Top