कुवेतमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ५१ पुग्यो

काठमाण्डौ – कुवेतमा थप २२ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको छ ।

थप २२ जना गरी मंगलबारसम्ममा कुवेतमा जम्मा ५१ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण देखिएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले उज्यालोलाई जानकारी दिनुभयो । कुवेतमा यसअघि २९ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको थियो ।

‘कुवेतमा सङ्क्रमण बढिरहेको छ, तर यहाँको सरकारले उपचार पनि आफ्नो नागरिक सरह नै गरिरहेको छ, स्वास्थ्य अवस्था स्थिर नै छ भन्ने जानकारी पाएका छौं,’ राजदूत भण्डारीले भन्नुभयो । कुवेतमा झण्डै ७० हजार नेपाली कार्यरत छन् ।

मंगलबारसम्ममा कुवेतमा ३४ सय ४० जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ११ सय ७६ जना उपचारपछि निको भएका छन् भने २२ सय ४१ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका अनुसार यी देशमा २०६ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये १९७ जनाको अस्पतालमा उपचार भइरहेको छ । ७ जना निको भएर काममा फिरेका छन् भने यूएईमा कोरोनाका कारण दुई जनाको ज्यान गएको छ ।

अहिलेसम्म बहराइनमा १२१, यूएईमा १२, साउदीमा ४, कुवेतमा ५१, कतारमा १५, मलेसियामा ३ जना गरी जम्मा २०६ जना नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएको हो । जसमध्ये साउदीमा तीन, यूएईमा दुई र मलेसियामा दुई गरी ७ जना निको भएर काममा फर्किएका छन् ।

Top