फ्रान्समा लकडाउन खुकुलो पार्ने तयारी, विद्यलाय र सार्वजनिक यातायातमा मास्क अनिवार्य

फ्रान्सले सार्वजनिक यातायात र विद्यालयमा मास्कको प्रयोग अनिवार्य बनाउने भएको छ । कोरोना भाइरसको महामारीका कारण बढी प्रभावित हुने मध्येमा एक रहेको फ्रान्सले जारी रहेको लकडाउन आउँदो मे ११ देखि खुकुलो बनाउने भएको छ ।

तर लकडाउन खुकुलो बनाए पनि सार्वजनिक यातायात र विद्यालयमा मास्कको प्रयोग अनिवार्य हुने प्रधानमन्त्री इड्वार्ड फिलिपले बताएका हुन् । विद्यालयहरु क्रमिक रुपमा खुलाउँदै जाने योजना उनले सार्वजनिक गरेका छन् ।

सुरुमा किन्डरगार्डेन र त्यसपछि प्राइमरी स्कूल खुलाइने छ । अन्त्यमा मात्रै सेकेन्डरी स्कूल खुलाइने र त्यहाँ मास्कको प्रयोग अनिवार्य गरिने फ्रान्स सरकारले बताएको छ । ११ देखि १५ वर्ष उमेरका बालबालिकाले मास्क अनिवार्य रुपमा लगाउनु पर्ने भएको हो ।

कोरोना भाइरसबाट बढी प्रभावित भएको अर्को देश स्पेनले पनि जनजीवन केही खुकुलो र सामान्य बनाउने तर्फ कदम चालेपछि फ्रान्सले पनि आफ्नो योजना सार्वजनिक गरेको हो ।

अत्यावश्यक बाहेकका पसल वा बजारहरु पनि आउँदो मे ११ देखि फ्रान्समा खुला हुने छन् । तर बार तथा रेस्टुरेन्टलाई भने सो छुट दिइएको छैन । खुला गरिएका पसलमा पनि सुरक्षात्मक सामग्रीको प्रयोग तथा तीन फिटको दूरी कामय गर्नु पर्ने छ ।

यस्तै सर्वसाधारणहरु मे ११ देखि घर बाहिर निस्कन पाउने छन् । एक ठाउँमा १० जनासम्म मात्रै जम्मा हुन पाइने छ ।

फ्रान्समा कोरोना भाइरसका कारण अहिलेसम्म २३ हजार ६९४ जनाको ज्यान गएको छ । यस्तै त्यहाँ संक्रमितको संख्या एक लाख ६९ हजार भन्दा बढी पुगेको जोन हप्किन्स विश्व विद्यालयलको कोरोना भाइरस स्रोत केन्द्रले उल्लेख गरेको छ ।

Top