अस्ट्रेलियाका नेपालीलाई दूतावासले भन्‍यो- जो जहाँ हुनुहुन्छ त्यहीं सुरक्षित बस्‍नूस्

काठमाडौं । अस्ट्रेलियाको क्‍यानबेरास्थित नेपाली दूतावासले अस्ट्रेलियामा रहेका नेपालीहरुलाई जो जहाँ रहेको छ, त्यही बस्‍न आग्रह गरेको छ ।

दूतावासले बुधबार एक सूचना जारी गर्दै भनेको छ, ूकोरोना संक्रमणको विषम् परिस्थितिमा स्वदेश फर्किने नेपालीहरुलाई व्यवस्थापन गर्न पर्याप्त संयन्त्र एवम् स्रोतसाधनको अवस्था, विद्यमान स्वास्थ्य संरचना, स्वदेश फर्किने नागरिकको परिवार एवम् समुदायको स्वास्थ्य जोखिम तथा यात्रा त्यति सुरक्षित नहुनेजस्ता विषयलाई मनन गर्दै केही समयको लागि धैर्यधारण गरी आफू जहाँ हुनुहुन्छ त्यहीँ सुरक्षित रूपमा रहनुहुन यस राजदूतावास हार्दिक अनुरोध गर्दछ ।
दूतावासले आगामी मे महिनाको पहिलो साता नेपालमा रहेका अस्ट्रेलिया र न्युजिल्यान्डका नागरिक एवम् स्थायी बासिन्दाहरूलाई लिएर नेपाल एयरलाइन्सको जहाज अस्ट्रेलियाको सिड्नी आउन लागेको जानकारी दिँदै सोही जहाजमा यहाँ रहेका र नेपाल जानैपर्ने अवस्था भएका नेपालीहरूलाई फर्काउनुपर्ने माग अनलाइन पत्रपत्रिका, सामाजिक सञ्जाल, टेलिफोन तथा इमेलबाट प्राप्त भइरहेकासमेत जनाएको छ ।

अस्ट्रेलियामा रहेका नेपाली नागरिकबाट प्राप्त यस्ता अनुरोधलाई दूतावासले अत्यन्त गम्भीरताका साथ ग्रहण गर्नुका साथै त्यस्ता अनुरोधलाई नेपाल सरकारसम्म पुर्‍याउने काम गरिरहेकोसमेत दूतावासले जनाएको छ । त्यैसगरी दूतावासले यस परिस्थितिमा कसैलाई खान, बस्‍नलगायत अन्य केही समस्या भएमा तत्काल यस दूतावासमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ ।

यसअघि अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले एक वर्षसम्म आफूलाई सहयोग गर्न नसक्ने विद्यार्थीहरुलाई र पर्यटकहरुलाई स्वदेश फर्किन आग्रह गरेका थिए । अस्ट्रेलियामा हालसम्म ६ हजार ७३८ जनालाई कोरोना संक्रमण भएको छ भने ८८ जनाको मृत्यु भएको छ ।

Top