बहराइनमा बहराइन मा बढ्दै छ कोरोना थप ३१ नेपालीमा कोरोना पुष्टि

१८ वैशाख, काठमाडौं । बिहीबार बहराइनमा रहेका थप ३१ जना नेपालीलाई कोभिड-१९ को संक्रमण भएको पुष्टि भएको छ । यससँगै संक्रमित नेपालीहरूको संख्या १५७ पुगेको छ ।

बहराइनस्थित नेपाली दूतावासका अनुसार मंगलबार पनि एकैपटक ७७ जना नेपालीमा यस्तो संक्रमण भेटिएको थियो ।
बहराइनमा एक हजार पाँच सय ३४ जना संक्रमित उपचारमा छन् १ हजार ४ सय ९४ जना डिस्चार्ज भएका छन् । बिरामीमध्ये धेरै स्थानीय छन् भने आप्रवासीहरूमा भारत, बंगलादेश, पाकिस्तानपछि नेपाली संक्रमितको संख्या ठूलो छ ।

कोरोना संक्रमणकै कारण बहराइनमा अहिलेसम्म आठ जनाको मृत्यु भएको छ । उपचारपछि निको भएर घर फर्किनेहरूको संख्या एक हजार दुई सय ४६ छ । तर, त्यसमध्ये कति नेपाली डिस्चार्ज भए भन्ने खुलेको छैन ।

धेरै संक्रमण देखिएपछि बहराइनमा रहेका नेपालीहरूको परिवार नेपालमा चिन्तामा छन् । तर, बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउँछन् । बहराइनको सरकारले बिरामीको बारेमा खुलेर जानकारी दिने गरेका कारण पनि संख्या धेरै देखिएको उनी बताउँछन् ।

दूतावासका अनुसार कामदारहरूको बासस्थानमा सामाजिक दुरी कायम गर्न नसक्दा संक्रमणको दर बढिरहेको छ । एकैस्थानमा धेरै कामदार बस्ने गरेकाले एक जनामा भएको संक्रमण अन्यमा फैलिएकाले नेपाली कामदारहरू असुरक्षित बन्न पुगेका छन् । त्यसैकारण त्यहाँको सरकारलाई बस्ने स्थानमा कामदारहरूबीच दुरी कायम हुनेगरी व्यवस्थापन गर्न दूतावासले आग्रह गरेको छ । आग्रहअनुसार बहराइन सरकारले पनि व्यवस्थापन गर्न थालेको उनले बताए ।

अहिले बहराइनमा सेमिलकडाउन छ । कम्पनीहरू बन्द भएपनि ठूला परियोजनामा काम भइरहेको छ । बिहान र बेलुका कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ ।

दूतावासले नेपाली कामदारहरुलाई सार्वजनिक स्थानमा जाँदा मास्क लगाउन आग्रह गरेको छ ।

मानमास्थित नेपाली दूतावासका अनुसार कतिपय कामदार भिसा अवधि सकिएर पनि नेपाल फर्किन सकेका छैनन् । उनीहरूलाई खानाको समस्या नहोस् भनेर दूतावास, स्थानीय संघ संस्था र सहयताकर्मीले सहयोग गरिरहेका छन् । बरहाइन सरकारले यस्ता अवैध बन्न पुगेका कामदारलाई ३१ डिसेम्बर २०२०सम्म माफी भिसा दिने निर्णय गरिसकेको छ ।

बहराइनमा करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ ।

Top