कोरोना कहर : बेलायतमा संक्रमण घट्दै

लण्डन : कोरोना भाइरसको संक्रमणबाट अति प्रभावित मुलुकमध्ये बेलायतमा महामारीको उत्कर्ष (पीक पोइन्ट)पार भएको छ । बेलायतमा नयाँ संक्रमितका साथै दैनिक मृत्यु हुने र अस्पताल भर्ना हुनेको संख्या घट्दै गएको सरकारी अधिकारीले पुष्टि गरेका छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले महामारीको पहिलो पीक पार भएपनि दोस्रो पीकको जोखिम भने बाँकी रहेको बताएका छन् । कोरोना संक्रमणबाट निको भएपछि पहिलोपटक सरकारको कोरोना ब्रिफिङलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोन्सनले संक्रमण फेरि बढ्ने खतरा कायम रहँदै लकडाउन र सामाजिक दूरीको नियम नहटाइने स्पष्ट पारे ।

झण्डै डेढ महिनादेखि जारी लकडाउनबाट कहिले र कसरी बाहिरिने भन्नेबारे आउँदो साता सरकारको विस्तृत योजना सार्वजनिक गरिने उनले बताएका छन् । शुक्रबारसम्ममा बेलायतमा कोरोना संक्रमणबाट २७ हजार भन्दा बढी मानिसको ज्यान गइसकेको छ । संक्रमणका केसहरु पनि अब दुई लाखको नजिक पुग्न थालेका छन् ।

कोरोनाकै कारण बेलायतमा हालसम्म तीन दर्जन नेपालीको पनि मृत्यु भएको पुष्टी यहाँस्थित नेपाली दूतावासले गरेको छ । यकिन तथ्यांक उपलब्ध नभएपनि मृतकको संख्या अझै बढी हुनसक्ने र सयौं नेपाली संक्रमित भएको आंकलन गरिएको छ ।

लण्डनको हडर्सफिल्ड विश्वविद्यालयका एशोसिएट डीन तथा जन स्वास्थ्यविज्ञ डा। पदम सिम्खडा भने पछिल्ला दिनमा ग्लोबल रुपमै नयाँ संक्रमणका केसहरु घट्न थालेको बताउँछन् ।

अहिले अपवादबाहेक विश्वव्यापी ट्रेण्ड नै आरोलो लागेको देखिन्छ । बेलायतमा पनि केहि साताअघि नै पीक पोइन्ट कटिसकेका कारण अब नयाँ केस विस्तारै घट्न थालेका छन् उनले भने ।

महामारी कुन चरणमा छ भनेर बुझ्न नयाँ संक्रमण र अस्पतालमा भर्ना हुनेको संख्या नै सबभन्दा महत्वपूर्ण सूचक हुने डा ।सिम्खडाको भनाइ छ । उनी भन्छन्, बेलायतमा संक्रमणका केस र अस्पतालको भर्ना दुवैको संख्या घट्दै गएको छ । साथै, दैनिक मृत्युको संख्या पनि अब घट्न लागेको संकेत छ ।

अहिलेको चरणमा ओरालो लागेको संक्रमण फेरि बढ्न सक्ने जोखिम भने अझै नहटेको डा। सिम्खडा बताउँछन् । विश्वव्यापी रुपमा महामारी कुन दिशामा जान्छ रु लकडाउन , सामाजिक दूरी लगायतका सावधानी र सतर्कता कसरी कायम राखिन्छ रु भन्ने जस्ता आधारले महामारीको दोस्रो पीकलाई निर्धारण गर्ने उनको धारणा छ ।

Top