चैतमा साढे दुई गुणाले घट्यो रेमिट्यान्स, लकडाउनमा २८ अर्ब रुपैयाँ भित्रियो

काठमाडौं–नेपालको अर्थतन्त्रलाई चलायमान बनाउने रेमिट्यान्स चैत महिनामा २८ अर्ब रुपैयाँमात्रै भित्रिएको छ। अघिल्लो वर्षको चैतमा वैदेशिक रोजगारमा जाने श्रमिकहरुले ७१ अर्ब रुपैयाँ रेमिट्यान्स पठाएका थिए।

गत वर्ष ८७९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। कोभिड-१९ को विश्वव्यापी प्रभावले चालु आर्थिक वर्षमा ७१० अर्ब रुपैयाँमात्रै भित्रिने प्रक्षेपण गरिएको छ। गत वर्ष भित्रिएको रेमिट्यान्सका आधारमा यसको जिडिपीमा योगदान २५.४ प्रतिशत थियो।

चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्ममा ५९२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। गत गर्षको यही अवधिमा ५८२ अर्ब रुपैयाँ भित्रिएको थियो। सामान्य अवस्थामा रेमिट्यान्सको बृद्धि सामान्य थियो।

नेपालमा खाडी मुलकमात्रै नभएर युरोप-अमेरिकाबाट भित्रिने रेमिट्यान्समा पनि प्रभाव पारेको छ। नेपाल राष्ट्र बैंक तथा बैंकरहरुको विश्लेषणअनुसार चालु आर्थिक वर्षमा १७० अर्ब रुपैयाँले रेमिट्यान्स घट्ने आँकलन गरिएको छ। यस आधारमा गत वर्षको भन्दा २० प्रतिशतले रेमिट्यान्स घट्नेवाला छ।

यसले बैंकको निक्षेपको स्रोतमा सबैभन्दा ठूलो प्रभाव पार्ने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहालले बताए।

Top