स्विडेनमा खुल्दैछ सेल्फ आइसोलेसन रेस्टुराँ

रसिलो घाँसे मैदानमा खुल्न लागेको रेस्टुराँमा एउटा मात्र टेबल र कुर्सी हुने छन्। र, दिनभर एकजना ग्राहकले मात्र सेवा पाउने छन्।

स्टकहोम: स्विडेनको भर्मल्यान्डमा १० मेदेखि यस्तो रेस्टुराँ खुल्दैछ, जो संसारकै सानो रेस्टुराँ हुने सञ्‍चालकको दाबी छ।

‘टेबल फर वान’ नाम दिएर पप(अप रेस्टुराँ खुलन लागेको हो। यस रेस्टुराँमा एक दिनमा एक ग्राहकले मात्र सेवा पाउने छन्।

रेसमस पर्सन र लिन्डा कार्लसन दम्पती यस फरक अवधारणाका हिमायती हुन्। उनीहरूले रेस्टुराँ खोल्न लागेको स्थान स्टकहोमबाट करिब तीन सय ५० किलोमिटर टाढा पर्छ।

रेस्टुराँमा एउटा मात्र टेबल र कुर्सी हुने छन्। रेस्टुराँ रसिलो घाँसे मैदानमा खुल्दैछ।

संसारभर कोभिड-१९ को महामारी फैलिइरहँदा सेल्फ आइसोलेसनको लहर नै चलेको छ। यही लहरलाई पछ्याउन खोजेका हुन्, रेसमस र लिन्डाले।

ग्राहकले दिनभर अर्को व्यक्तिसँग भेट्न र कुराकानी गर्न पाउने छैनन्। र, ‘सेल्फ आइसोलेसन’को आनन्द उठाउन पाउने छन्।

रेस्टुराँमा दायाँ-बायाँ वेटर र या रेस्टुराँका स्टाफ हुने छैनन्। न त अर्को टेबलमा अन्य पाहुना नै हुनेछन्।

आफूहरूले पैसा कमाउने उद्देश्यले यस नयाँ अवधारणामा काम नगरेको रेसमस र लिन्डा बताउँछन्।

Top