२ खर्ब ४ अर्ब रेमिट्यान्स बाहिरियो

काठमाडौं । नेपालीले मलेसिया र खाडी राष्ट्रमा ठूलो जोखिम मोलेर पठाएको रेमिट्यान्सको अनुपातमा नेपालमा रहेका अन्य मुलुकका कामदारले लैजाने रेमिट्यान्स परिमाणसमेत भयावह रहेको पाइएको छ ।

विश्व बैंकको द्विपक्षीय रेमिट्यान्स प्रवाह सूचकांक–२०१९ अनुसार नेपालबाट सन् २०१८ मा १ अर्ब ८० करोड ७० लाख अमेरिकी डलर (करिब २ खर्ब ४ अर्ब १९ करोड रुपैयाँ) रेमिट्यान्स बाहिरिएको छ । सन् २०१७ मा नेपालबाट ३ अर्ब २२ करोड ६० लाख अमेरिकी डलर (करिब ३ खर्ब ६४ अर्ब रुपैयाँ) बाहिरिएको थियो ।

द्विपक्षीय रेमिट्यान्स प्रवाह सूचकांकअनुसार भारतबाट नेपालमा आउने रेमिट्यान्सभन्दा नेपालबाट भारततर्फ जाने रेमिट्यान्स बढी छ । सन् २०१८ मा नेपालबाट भारतले सर्वाधिक धेरै १ खर्ब ८० अर्ब रुपैयाँ (१ अर्ब ५९ करोड ४० लाख अमेरिकी डलर) रेमिट्यान्स लगेको छ भने भारतबाट नेपालले १ खर्ब ५१ अर्ब रुपैयाँ (१ अर्ब ३३ करोड ७० लाख डलर० रेमिट्यान्स प्राप्त गरेको छ ।

सन् २०१७ मा भने भारतले नेपालबाट सवा ३ खर्ब रुपैयाँ (३ अर्ब १ करोड ६० लाख डलर)बराबरको रेमिट्यान्स लगेको थियो । सो वर्ष भारतबाट नेपालमा सवा १ खर्ब रुपैयाँ (१ अर्ब २ करोड १० लाख डलर) रेमिट्यान्स भित्रिएको बैंकको विवरणमा उल्लेख छ ।

सन् २०१८ मा नेपाल भित्रने रेमिट्यान्सको अघिल्लो वर्षका तुलनामा उल्लेख्य अनुपातमा बढेको भए पनि नेपालबाट बाहिरिने रेमिट्यान्स भने करिब ४४ प्रतिशतले घटेको विश्व बैंकको तथ्यांकले देखाएको छ ।

नेपालमा ठूलो संख्यामा भारतीय कामदार र व्यापारी तथा निजी क्षेत्रमा उच्च तहका कर्मचारी रहेका छन् । भारतमा नेपालीहरू तल्लो तहमा काम गर्न गइरहेका छन् । नेपालमा कबाडी संकलन र व्यापार, कपाल काट्ने व्यवसाय, पलम्बिङ, इलेक्ट्रेसियन, घर निर्माणलगायत क्षेत्रका भारतीय कामदारले अनौपचारिक रूपमा पठाउने रकम हुन्डीलाई जोड्ने हो भने योभन्दा बढी रकम भारततर्फ गइरहेको आँकलन गर्न सकिन्छ ।

भारतपछि नेपालबाट रेमिट्यान्स धेरै लैजाने मुलुकमा चीन परेको छ । सन् २०१८ मा चीनले नेपालबाट करिब १६ अर्ब २७ करोड रुपैयाँ (१४ करोड ४० लाख अमेरिकी डलर) रेमिट्यान्स लगेको प्रतिवेदनमा उल्लेख छ ।

यसैगरी, पाकिस्तानले ३ अर्ब ८४ करोड (३ करोड ४० लाख डलर) र भुटानले ३ अर्ब ७२ अर्ब ९० लाख (३ करोड ३० लाख डलर) लगेका छन् भने श्रीलंकाले २२ करोड रुपैयाँ (२० लाख डलर) र बंगलादेशले ११ करोड (१० लाख डलर) रेमिट्यान्स नेपालबाट लगेका छन् ।

नेपालबाट बर्सेनि ६ मुलुकले साढे ३ खर्ब रुपैयाँभन्दा बढी रकम रेमिट्यान्समार्फत लैजाने गरेको पाइएको छ । नेपालबाट सबैभन्दा बढी रेमिट्यान्स लैजाने मुलुकमा भारत र चीन छन् । भारत र चीनबाट जति रेमिट्यान्स नेपाल भित्रिन्छ, त्यसको तीन गुणाभन्दा बढी ती दुई मुलुकले नेपालबाट लैजाने गरेको एक अध्ययनले देखाएको छ ।

अमेरिकाको वासिङ्टनस्थित अनुसन्धान संस्था पीयू रिसर्च सेन्टरले गरेको अध्ययनअनुसार सन् २०१७ मा नेपालबाट ६ मुलुकले ३ अर्ब २२ करोड ६० लाख अमेरिकी डलर (करिब ३ खर्ब ६४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ) रेमिट्यान्स लगेको देखिएको छ । नेपालबाट रेमिट्यान्स लैजाने ६ मुलुकमा चीनबाहेक सबै दक्षिण एसियाली मुलुक रहेका छन् ।

नेपालबाट साढे ३ खर्ब रुपैयाँभन्दा बढी रेमिट्यान्स लैजाने मुलुकमा भारत, चीन, भुटान, पाकिस्तान, श्रीलंका र बंगलादेश छन् । नेपालले ७२ देशबाट करिब ७ खर्ब ८८ अर्ब ६२ करोड ७० लाख रुपैयाँ भित्रायाएको छ भने ६ देशले नेपालबाट करिब ३ खर्ब ६४ अर्ब ५३ करोड ८० लाख रुपैयाँ लगेका छन् ।

चीनबाट रेमिट्यान्स बढी भित्रायाउने राष्ट्रको सूचीमा नेपाल ३२औं स्थानमा छ । विश्वभरबाट चीनमा रेमिट्यान्स बढी जाने देशको सूचीमा नेपाल २५ औं स्थानमा छ ।

नेपालमा सिमेन्ट उद्योग र हाइड्रोपावर कम्पनीमा लगानी बढेसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्यासमेत बढ्दै गइरहेको देखिन्छ । श्रम ऐनमा ५ प्रतिशत मात्र विदेशी कामदार राख्न सकिने प्रावधान भए पनि परियोजना थपिएसँगै रोजगारीका लागि नेपाल आउने विदेशीको संख्या बढेको हो ।

सन् २०१७ मा नेपालबाट भारतीयले नै ३ अर्ब १ करोड अमेरिकी डलर, चिनियाँले १३ करोड ९० लाख डलर, भुटानीले ३ करोड ५० लाख डलर, पाकिस्तानीले ३ करोड ३० लाख डलर, श्रीलंकालीले २० लाख डलर र बंगलादेशीले १० लाख डलर रेमिट्यान्स लगेका थिए ।

यसरी नेपालले वैधानिक श्रम स्वीकृति दिएका कामदारले भन्दा अनौपचारिक क्षेत्रमा काम गर्नेहरूबाट हजारौं गुणा बढी रेमिट्यान्स गइरहेको तीतो यथार्थले नेपालमा हुन्डी कारोबार पनि फस्टाइरहेको सहजै अनुमान लगाउन सकिन्छ ।

नेपालबाट सन् २०११ मा ३९ मिलियन बाहिरिएको थियो । विश्व बैंकको तथ्यांकअनुसार, सन् २०१० मा नेपालबाट ३२ मिलियन डलर, सन् २००९ मा १२ मिलियन र सन् २००८ मा ५ मिलियन नेपालबाट रेमिट्यान्स बाहिरएको थियो । नेपालबाट सबैभन्दा धेरै सन् २००६ मा ७९ मिलियन अर्थात् ६ अर्ब ९७ करोड रेमिट्यान्स बाहिरिएको थियो ।

सन् २०१८ मा नेपाल भित्रने रेमिट्यान्सको अघिल्लो वर्षका तुलनामा उल्लेख्य अनुपातमा बढेको भए पनि नेपालबाट बाहिरिने रेमिट्यान्स भने करिब ४४ प्रतिशतले घटेको विश्व बैंकको तथ्यांकले देखाएको छ ।

Top