कोरोना संक्रमणले हुने मृत्यु दरमा कमी आउँदै

काठमाडौं : कोरोना संक्रमणले हुने मृत्युको दर घट्दै गएको छ । संक्रमित मध्ये गम्भीर बिरामीको संख्या कम हुँदै जानुले मृत्यु दर पनि घट्दै गएको पुष्टि हुन्छ ।

सुरुका दिनमा संक्रमित मध्ये ५ प्रतिशत बिरामी गम्भीर हुने गरेकोमा अहिले यो दर २ प्रतिशतमा झरेको छ । दैनिक ७ हजारसम्म ज्यान जाने गरेकोमा अहिले दैनिक ५ हजारको हाराहारीमा मृत्यु हुने गरेको छ । पछिल्लो २४ घण्टामा ५ हजार १३९ को मृत्यु भएको छ ।

अमेरिकामा दैनिक साढे २ हजारसम्मको मृत्यु हुने गरेकोमा अहिले यो संख्या करिब हजारले घटेको छ । पछिल्लो २४ घण्टामा १ हजार ६४३ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा १ हजार ८९२ जनाको मृत्यु भएको थियो । वितेको २४ घण्टामा विश्वभर ५ हजार ६१९ कोरोना संक्रमितको मृत्यु भएको थियो ।
हाल विश्वभर २१ लाख २८ हजार १९० कोरोना संक्रमितको उपचार भइरहेको छ । यसमा २० लाख ७७ हजार ३२६ को स्वास्थ्य अवस्था मध्यम रहेको छ भने ५० हजार ८६४ को अवस्था गम्भीर रहेको छ । गम्भीर विरामीको संख्या २ प्रतिशत छ । यो सुरुका दिनमा ५ प्रतिशत थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मृत्यु दर कम हुँदै गएका बताएका छन् । उनले सुरुका दिनमा दुई लाखसम्म अमेरिकनको ज्यान जाने गरेको बताउने गरेकोमा अहिले १ लाखभन्दा माथि नजाने गरेको बताएका बीबीसीले जनाएको छ । १ लाखका रोक्न सकियो भने यसलाई अमेरिकाले कोरोना रोकथामका लागि चालेको कदमलाई सफल मान्नु पर्ने बताएका छन् ।

कोरोनाका कारण मृत्यु हुनेको दर सबैभन्दा धेरै बेल्जियममा छ। बेल्जियम विश्वमै कोरोना संक्रमणका कारण मृत्यु हुने दर उच्च रहेको देश भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् ।

ट्रम्पले एक ग्राफ प्रस्तुत गर्दै अमेरिकामा भन्दा मृत्यु दर बेल्जियममा धेरै रहेको बताएका बीबीसीले जनाएको छ । उनले जनसंख्याको तुलना गर्दै यस्दो दाबी गरेका हुन् । ट्रम्पका अनुसार बेल्जियम सबैभन्दा माथि छ भने अमेरिका ९७ औं स्थानमा छ ।

१ करोड १५ लाख जनसंख्या रहेको बेल्जियममा एक लाख जनसंख्यामा ६६ जनाको कोरोनाका कारण ज्यान गइरहेको छ । ३३ करोड जनसंख्या रहेको अमेरिकामा प्रति लाख १९ जनाको ज्यान गइरहेको जोन्स हापकिन्सको तथ्यांकले जनाएको छ ।

कोरोनाको संक्रमणका कारण आइतबार बिहानसम्म विश्वभरमा २ लाख ४४ हजार ५८७ जनाको ज्यान गएको छ । अमेरिकामा मात्रै ६७ हजार ३९६ जनाको मृत्यु भएको छ ।

Top