तारे होटलहरु ६ महिनासम्म बन्द गर्ने निर्णय, कर्मचारीले आधारभूत तलबको १२.५ प्रतिशत रकम मात्र पाउने

नेपालको होटल व्यवसाय कोरोना भाइरसको विश्वव्यापी महामारी र लकडाउनको चपेटामा परेको छ। नेपालमा ११ चैतबाट लकडाउन लागू भएपछि होटल व्यवसाय पूर्णरुपमा ठप्प छ ।

कोरोनाको कहर कहिलेसम्म लम्बिने हो यकिन नभएका बेला होटल संघ नेपालले वैशाख १ गतेदेखि ६ महिनाका लागि तारे होटल बन्दको निर्णय गरेको छ।

संघले श्रमिकको व्यवस्थापन गर्न सूचना समेत जारी गरेको छ। जस अनुसार वैशाख १ गतेबाट लागू हुने गरी ६ महिनासम्म प्रत्येक महिना आधारभूत तलबको १२.५ प्रतिशतका दरले हुन आउने रकमका साथै सेवाशुल्क पनि उपलब्ध गराउने उल्लेख छ।

होटलले दिने भनिएको आधारभूत तलबको १२.५ प्रतिशतमा सरकारले थप गरी श्रमिकलाई तलब भत्ता भुक्तानी गर्न ‘जव रिटेन्सन फन्ट’ को व्यवस्था गर्न माग गरिएको छ।

त्यस्तै, संघले १२.५ प्रतिशतका दरले पारिश्रमिक लिन असहमत भएमा श्रम ऐन २०७४ को दफा १४५ अनुसार कर्मचारी कटौतिका लागि प्रक्रिया चलाई सूचना दिई आंशिक वा पूर्ण रुपमा विदा दिने चेतावनी दिएको छ।

संघका अनुसार यो निर्णय हायात, अन्नपूर्ण, सांग्रिला, होटल एम्बेसडर, सोल्टी, लगायत तारे होटलमा लागू हुनेछ।

Top