आउटसोर्सिङ कामदार कटौती गर्दै बैंक

काठमाडौं : बैंकहरूले आउट सोर्सिङमा कार्यरत कर्मचारीलाई सेवा सुविधा नदिने गरी कामदार कटौती गर्न थालेका छन्। बन्दाबन्दी सुरु भएयता अधिकांश कर्मचारीले कार्यालयमा हाजिर गर्न पाएका छैनन्। कार्यालय बन्द गर्नु परेपछि रोजगारदाताले आफ्ना ‘इन­­–हाउस’ कर्मचारीलाई नियमित सेवा सुविधा दिए पनि आउटसोर्सिङका कर्मचारीलाई सुविधा नदिने घोषणा गर्न थालेका हुन्।

यसबाट न्यून तलव सुविधामा काम गर्ने कर्मचारी मारमा परेको रोजगार मध्यस्थता गर्ने कम्पनीले जनाएका छन्। ‘हामीले रोजगारदातासँग कम्तीमा चैत महिनासम्मको तलव दिनुपर्ने माग राखिरहेका छौं’, कर्पोरेट क्षेत्रमा मानव संशाधनसम्बन्धी सेवा दिँदै आएको कम्पनी ग्रोथ सेलरका प्रमुख मोहन ओझा भन्छन्।

बैंकका काउन्टरमा बसेका सहयोगी, फोटोकपी गर्ने, खाता खोलिदिने, फारम भरिदिनेजस्ता कर्मचारी प्रायः आउटसोर्सिङबाटै जुटाएका हुन्छन्। एउटै बैंकले कम्तीमा दुई सय आउटसोर्सिङ कर्मचारी राख्दै आएका छन्। नेपालमा सुरक्षा गार्ड, प्लम्बर, इलेक्ट्रीसियन, पेन्टरजस्ता पेसा छाडेर पनि २ लाखभन्दा बढीले आउटसोर्सिङमा काम गरिरहेको ओझा बताउँछन्।

पलाञ्चोक सेक्युरिटी सर्भिसका प्रबन्ध निर्देशक राजन पोखरेलका अनुसार मुलुकभर कम्तीमा ४० हजार जना सुरक्षा कामदारका रूपमा आउटसोर्सिङ गरिरहेका छन्। त्यसमध्ये अहिलेको बन्दाबन्दीका कारण १० प्रतिशतसम्मले जागिर गुमाउन सक्छन्। होटेल, रेस्टुरेन्टले अत्यावस्यकबाहेक सबै कर्मचारी हटाइसकेका छन्।

पछिल्ला वर्षमा सूचना प्रविधि, सरसफाइ, बिक्री वितरण, अध्ययन अनुसन्धानजस्ता विभिन्न सेवामा पनि आउटसोर्सिङ कर्मचारीको प्रयोग झाँगिएको थियो। ‘मोबाइल पसलमा बसिरहेका युवा त्यो पसलका कर्मचारी होइनन्’, ओझा भन्छन्, ‘मोबाइल कम्पनीले ती आफ्नो मोबाइल बेच्नका लागि आफैंले तलव दिएर ती पसलमा कर्मचारी पठाएका हुन्।’ त्यस्ता कर्मचारी पनि आउटसोर्सिङबाटै जुटाएका हुन्छन्। न्युरोडका ठूला पसलमा बस्ने अधिकांश कर्मचारी आउटसोर्सिङबाट ल्याइएका छन्।

यस्ता कर्मचारीले त फागुनपछि जागिर गुमाइसकेका छन्। सबैभन्दा सुव्यवस्थित बैंकिङ क्षेत्रमा पनि पछिल्लो समय त्यस्ता कर्मचारीलाई सेवासुविधा नदिने भनेपछि समस्या बढेको रोजगार मध्यस्थता कम्पनीको गुनासो छ। ‘अहिले हामी आफैं समस्यामा छौं। घर भाडा र फोन, बिजुलीको न्यूनतम शुल्क तिर्नुपर्छ, तर कमाइ शून्यमा झरेको छ’, ओझा भन्छन्।

राजन पोखरेल भने विद्यमान ऐनअनुसार रोजगारी गुमाए पनि त्यस्ता कर्मचारीलाई तलव दिनुपर्ने व्यवस्था भएको बताउँछन्। ‘तर अहिले कसैले पनि तलव दिँदैनन्’, उनी भन्छन्, ‘घण्टाका आधारमा तलव दिने परिपाटीले यस्तो बेला कामदार आपूर्तिकर्ता कम्पनीसँगै आउटसोर्सिङ कर्मचारी पनि घाटामै पर्छन्।’ सामाजिक सुरक्षामा पनि यस्ता आउटसोर्सिङ कर्मचारी समावेश हुन सकेका छैनन्।

राष्ट्र बैंकले कर्मचारी खर्चको ३ प्रतिशत तालिममा खर्चनुपर्ने भनेपछि मानव संशाधन विकासमा काम गर्ने भन्दै उम्रिएका नयाँ संस्थाले आउटसोर्सिङको बजारलाई पछिल्ला वर्षमा ह्वात्तै बढाएका थिए।

उनीहरूले कम तलवमा आउटसोर्सिङ कर्मचारी भर्ती गरेर सञ्चालन खर्च घटाएका छन्। अहिले आउटसोर्सिङमा काम गर्ने अधिकांश कर्मचारीको तलव मासिक १२ देखि २० हजार रुपैयाँको हाराहारी छ। मोबाइल, सवारीसाधनको सोरुममा चाहीँ सेल्सको आधारमा कमिसन पनि पाउने भएकाले केही कर्मचारीले बढी पैसा पाउँछन्। केही ठूला परियोजनाले पनि छोटो समयका लागि आउटसोर्सिङमा इन्जिनियरजस्ता उच्च प्राविधिक कर्मचारी पनि भर्ना गर्ने गरेका छन्। उनीहरूको तलव सुविधा भने निकै बढी हुन्छ।

Top