काेराेना भाइरस : फ्रान्स, इटली र स्पेनमा सुधारकाे सङ्केत

काठमाण्डौ – युरोपमा कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सबैभन्दा बढी प्रभावित भएका देशमध्ये फ्रान्स, इटली र स्पेनमा पछिल्लो समय लगातार सुधारको सङ्केत देखिएको छ ।

सुधारको सङ्केत देखिएसँगै सङ्क्रमण अन्त्य हुने बाटोतिर लागेको देखिएको छ । तीनै देशमा आइतबार कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या झण्डै दुई महिनायताकै कम देखिएको छ । योसँगै यी देश लकडाउन केही खुकुलो बनाउनेतर्फ अग्रसर भएका छन् ।

फ्रान्समा आइतबार एक सय ३५ तथा स्पेनमा एक ६४ जनाको ज्यान गएको थियो र यो गएको मार्च मध्ययताकै कम हो । यस्तै इटलीमा एक सय ७४ जनाको ज्यान गएको र यो सङ्ख्या पछिल्लो दुई महिनायताकै कम भएको बीबीसीले जनाएको छ ।

युरोपका देशमध्ये सबैभन्दा धेरै संक्रमण भएको स्पेनमा अहिलेसम्म दुई लाख ४७ हजारभन्दा धेरै सङ्क्रमित छन् भने एक लाख ४८ हजार पाँच सय ५८ जना उपचारपछि निको भएका छन् । २५ हजार दुई सय ६४ जनाको ज्यान गएको छ ।

यस्तै इटलीमा दुई लाख १० हजार सात सय १७ जना सङ्क्रमितमध्ये ८१ हजार ६ सय ५४ जना उपचारपछि निको भएका छन्, झण्डै २९ हजार जनाको ज्यान गएको छ ।

फ्रान्समा एक लाख ६८ हजार ६ सय ९३ जना सङ्क्रमित भएकोमा ५० हजारभन्दा धेरै उपचारपछि निको भएका छन् भने २४ हजार आठ सय ९५ जनाको ज्यान गएको छ ।

Top