इटालीमा लकडाउन खुकुलो, ४० लाख मानिस काममा फर्किन सक्ने

करिब दुई महिनापछि इटालीले लकडाउनका प्रतिबन्धहरू खुकुलो बनाउन सुरु गरेको छ । अब त्यहाँका मानिस वरिपरि निस्किन, आफन्तहरू भेट्न जान, पार्कमा टहलिन तथा रेस्टुरेन्टमा गएर खाना प्याक गर्न सक्नेछन् ।

प्रतिबन्ध हटाएसँगै करिब ४० लाख मानिस काममा फर्किन सक्ने अनुमान गरिएको छ ।

इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले भाइरस फैलिन सक्ने सम्भावना हेरेर लगाइएका प्रतिबन्ध अझै हटाउन सकिने बताएका छन् । तर, संक्रमणबाट पूर्ण रूपमा मुक्त भएको नबुझ्न नागरिकलाई आग्रह पनि गरेका छन् । अझै सतर्कता अपनाउन आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ छ ।

इटालीमा अहिलेसम्म भाइरसको संक्रमणबाट २८ हजार आठ सय मानिसको मृत्यु भएको छ । संक्रमितको संख्या दुई लाख १० हजार सात सय पुगेको छ । गएको २४ घन्टामा इटालीमा एक सय ७४ जनाको मृत्यु भएको छ । लगातार मृत्युदर र संक्रमित दर घट्दै गएको छ ।

इटालीले देशभर मार्च ९ देखि लकडाउन गरेको थियो, यसभन्दा अगाडि फेब्रुअरीको तेस्रो सातादेखि भाइरसबाट सबैभन्दा प्रभावित भएको लम्बोर्डी क्षेत्र बन्द गरिएको थियो ।

कोरोना भाइरसको संक्रमणका कारण विश्वका दुई लाख ४८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने ३५ लाख ६८ हजार मानिस संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर गएको २४ घन्टामा तीन हजार चार सय ८१ को मृत्यु भएको छ । अघिल्लो दिन २४ घन्टाको अवधिमा पाँच हजार दुई सय १५ जनाको मृत्यु भएको थियो ।

Top