विदेशमा नेपालीमाथि समस्या बढ्दैछ : परराष्ट्रमन्त्री ज्ञवाली Technology by Remit Khabar - 05/05/20200 २३ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारीका कारण विदेशमा रहेका नेपाली समस्यामा पर्दै जान थालेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले विदेशमा काम गर्ने १० देखि ३० प्रतिशत नेपालीले रोजगारी गुमाउन सक्ने बताए । कोरोना महामारीकै अवधिमा नेपालीको भिसा अवधि सकिने, श्रमिकको कम्पनीसँग करार अवधि सकिने र अवैध हुन पुग्दा कानूनी समस्या देखिने खतरा रहेको पनि मन्त्री ज्ञवालीले बताए । थुप्रै देशहरुले कामदार कटौती गर्ने र रजिस्ट्रेसन सुरु गरेको अवस्थामा नेपालीहरु खर्च अभावमा समस्यामा पर्न सक्ने उनको भनाइ छ । विदेशमा रहेका संक्रमित नेपालीको हालसम्म निःशुल्क उपचार भइरहेको छ । तर ती देशमा संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालले घरमै बसेर आराम गर्न आग्रह गर्दा नेपालीहरु समस्यामा पर्न सक्ने मन्त्री ज्ञवालीले बताए । कोरोना महामारीका कारण वैदेशिक रोजगारी गुमाएर फर्किनेहरुका कारण नेपाली श्रम बजारमा गहिरो समस्या पर्न सक्ने उनको भनाइ छ । मन्त्री ज्ञवालीले देशभित्रै धेरैले रोजगारी गुमाउने, विदेशमा रोजगारी गुमाउनेहरु फर्किने र विदेश जानेहरु पनि रोकिने हुनाले उनीहरुको व्यवस्थापन चुनौतीपूर्ण हुने बताएका हुन् । ‘देशभित्र नै बेरोजगारी कायम रहन्छ, बाहिरबाट फर्किनेको संख्या झन् बढ्छ र यो बेरोजगारीको व्यवस्थापन हाम्रो निम्ति आउँदो दिनहरुमा असाध्यै ठूलो चुनौतीको रुपमा रहने कुरा सरकारले गम्भीरतापूर्वक लिएको छ’ उनले भने ‘त्यसका निम्ति विभिन्न खालका योजनाहरुको तयार पनि गरिराखेका छौं ।’ कोभिड १९ महामारीका कारण विदेशमा रहेका नेपालीलाई परेको समस्याबारे नेपाली दूतावासबाट नियमित जानकारी लिने र समस्या समाधानका लागि त्यहाँका सरकारसँग पनि पहल भइराखेको मन्त्री ज्ञवालीले बताए । उनले खाडी देशमा समस्यामा परेका नेपालीको बारेमा जानकारी लिने र राहत दिने काम भइरहेको पनि जिकिर गरे । नेपाली धेरै रहेका मुलुकमा प्रधानमन्त्री र परराष्ट्र मन्त्री स्तरबाट छलफल र उद्दारका लागि पहल भइरहेको पनि मन्त्री ज्ञवालीले जानकारी गराए । नेपालबाट श्रमका लागि भारत, साउदी अरेयिबा, युएई, कतार, मलेसिया, दक्षिण कोरिया, जापान, साइप्रस, इजरायल लगायतका देशहरुमा नपालीहरु गएका छन् । यसबाहेक अन्य धेरै मुलुकमा अध्ययन, तालिम, श्रम गर्न गएका छन् । कतिपय देशमा घुम्न गएका नेपाली पनि लकडाउन र हवाइ उडान बन्द भएका कारण रोकिएका छन् ।