लकडाउन ६ महिनासम्म लम्बिए ३५ प्रतिशत उद्योग बन्द हुन्छन् : अग्रवाल

काठमाडौं । नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णु अग्रवालले कोरोना भाइरसका कारण मुलुक लकडाउनमा हुँदा उद्योग व्यवसायमा निकै असर परेको बताएका छन् । उनले लकडाउनको अवधि आगामी ६ महिनासम्म गए ३५ प्रतिशत उद्योग व्यवसाय बन्द हुने बताए ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज भिडियो अन्तरक्रियामा गरेको कार्यक्रममा उनले सरकारले तीन क्षेत्र निर्धारण गरेर उद्योग छिटै सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

अहिलको अवस्थामा सरकार एक्लैले सबै खर्च धान्न नसक्ने पनि उनले बताए । त्यसमा रोजगारदाता, श्रमिकको पनि योगदान आवश्यक पर्ने उनको भनाइ छ । यद्यपि उनले श्रमिक तथा कर्मचारीहरूलाई पारिश्रमिक व्यवस्थापनका लागि सरकार र श्रमिकको योगदान पनि आवश्यक हुने बताए ।

होटल क्षेत्रको अवस्था अत्यन्त दयनीय भइसकेको छ । “नेपाल भ्रमण वर्ष—२०२० लाई लक्षित गरी नयाँ लगानी पनि भइरहेको थियो, अहिले यो उद्योग निरन्तर हुन नै समस्या भएकाले पारिश्रमिक दिन नै कठिन हुन्छ,” उनले भने । उद्योगीहरूले अहिले मुनाफाभन्दा पनि बन्द भएका उद्योगलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ कि सकिँदैन भन्ने विषयमा नै अन्योलमा रहेको उनको भनाइ छ ।

Top