आउँदो वर्ष अर्थतन्त्रका लागि चुनौतिपूर्ण : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी वर्ष अर्थतन्त्रका लागि निकै चुनौतिपूर्ण हुन सक्ने बताएका छन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा उनले कोभिड १९ को कारण नेपालको अर्थतन्त्र निकै चुनौतिपूर्ण रहने बताएका हुन्। अधिकारीले रेमिट्यान्समा गिरावट आउने, पर्यटन क्षेत्रमा आय नहुने र वैदेशिक लगानीमा पनि कमि आउने भएकाले अर्थतन्त्रमा चुनौति थपिएको बताएका हुन् ।

यस्तै, उनले लामो समयको लकडाउनले व्यवसाय बन्द हुँदा बैंकको ऋणमा साँवा–ब्याज तिर्ने समय पर सार्न सकिने तर ब्याज मिनाहा गर्न भने नसकिने बताएका छन् । उनले कोरोना सुरु भएदेखि वित्तीय क्षेत्रमा ऋण र निक्षेप बढ्न नसकेको बताउँदै वित्तीय क्षेत्र पनि संकटमा रहेकाले ऋणीलाई राहत पुगोस् भनेर ब्याजदर घटाउने निर्णय भएको तर ब्याज मिनाहा नै भने गर्न नसकिने स्पष्ट पारेका हुन् ।

यस्तै, चालू आर्थिक वर्षको मौद्रिक नीतिले लिएका अधिकांश लक्ष्यहरु अब पुरा नहुने स्थिति आइसकेको उनको भनाई छ । अधिकारीले अब यसबाट बाहिर निस्कन उत्पादन क्षेत्रमा लगानी बढाउने र रोजगारीमा प्रवर्द्धन हुनेगरी मौद्रिक नीति ल्याउने तयारी थालिएको बताएका छन् ।

Top