कतारमा समस्या परे दूतावासमा सम्पर्क गर्न सकिने, ६०९ जनालाई खाद्यान्न वितरण

काठमाण्डौ – कतारमा रहेको नेपाली दूतावासले समस्यामा परेका नेपालीलाई खाद्यान्न वितरण गर्न थालेको छ । खाद्यान्न समस्या भएकालाई कतार च्यारिटीसँग समन्वय गरी ६०९ जना नेपाली श्रमिकलाई खाद्यान्न उपलब्ध गराइएको दूतावासले जनाएको छ ।

जसमध्ये गैह्रआवासीय नेपाली संघ कतारमार्फत ३३० प्याकेट र राजदूतावासले प्रत्यक्ष रुपमा २७९ प्याकेट वितरण गरिएको हो । राहत खाद्य सामग्री प्याकेटमा एक जनालाई दुई हप्ताको लागि पुग्ने खाद्यान्न रहेको दूतावासले जनाएको छ ।

कोरोना महामारीका कारण समस्यामा परेका नेपालीहरुले विभिन्न माध्यममार्फत दूतावासमा गुनासा टिपाउने गरेको र त्यसरी प्राप्त गुनासा कम्पनी, रोजगारतासँगै कतारका सरकारी निकायसँग समन्वय गर्दै समाधान गरिरहेको पनि जनाएको छ ।

अन्य सम्बन्धित निकाय, गैह्रआवासीय नेपाली संघ तथा नेपाली समुदायसँग निरन्तर समन्वय र सहजीकरण गरिरहेको पनि दूतावासको भनाइ छ ।

आफूलाई परेको समस्या दूतावासमा राख्न सकिन्छ । अनलाइनमार्फत र फोनमार्फत पनि दूतावासमा समस्यामा पर्नेले आफ्नो समस्या राख्न सकिने दूतावासले जनाएको छ ।

दूतावासले समस्यामा परेको नेपालीको विवरण अभिलेखिकरण गर्ने र त्यसको समाधानका लागि समन्वय र सहजिकरण गर्ने भएकाले समस्यामा पर्नेले आफ्नो विवरण दूतावासमा राख्न अनुरोध गरिएको छ ।

कतारमा रहनुभएका नेपाली नागरिकहरुको तथ्याङ्क संकलन फारम

Top