विदेशी मुद्रा सञ्चिति घटे नेपालमा चौतर्फी असर

काठमाडौं, २५ वैशाख । कोरोना भाइरसले निम्त्याएको संकटका कारण नेपालको विदेशी मुद्रा सञ्चितिमा समेत नकारात्मक असर पर्न सक्ने आंकलन गरिएको छ ।

रेमिट्यान्स अर्थात्‌ विप्रेषण र निर्यातमा गिरावट तथा पर्यटकबाट हुने आम्दानी घट्दा विदेशी मुद्राको आर्जन कम हुने नेपाल राष्ट्र ब्याङ्कका गभर्नर महाप्रसाद अधिकारीको भनाई छ ।

नेपालले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्रोतमध्ये एउटा वैदेशिक रोजगारी कोरोना भाइरस महामारीका कारण पछिल्लो समय प्रभावित भएको छ।

नेपाली कामदारको प्रमुख गन्तव्यका रूपमा रहेका खाडीसहितका धेरै मुलुकका कम्पनीहरूले नेपालीहरूलाई स्वदेश फर्काउन खोजिरहेका छन्।

केही अर्थविद्‌ले नेपालको विदेशी मुद्रा सञ्चिति घट्न गएपछि त्यसको चौतर्फी असर पर्न सक्ने भन्दै सचेत गराएका छन्। कोरोनाभाइरस महामारीका कारण नेपालले आर्जन गर्ने विदेशी मुद्रामा कमी आई सञ्चिति घटेमा त्यसले विदेशी मुद्रा विनिमयमा सङ्कट उत्पन्न हुने अर्थविद्‌ पोषराज पाण्डेले बताए ।

राष्ट्रिय ढुकुटीमा विदेशी मुद्राको सञ्चिति घटेमा त्यसले आयात महँगो हुनेदेखि लिएर देशभित्र मुद्रास्फिति अर्थात्‌ मूल्यवृद्धिसम्म हुने अर्थविद्‌हरू बताउँछन्।

नेपालले आयात गर्ने कच्चा पदार्थको मूल्य पनि बढेर देशभित्र बजारमा महँगी बढ्ने र उत्पादन लागत बढ्छ र उपभोक्ताले मूल्य वृद्धि खेप्नुपर्ने अर्थविद्‌ विश्वम्भर प्याकुर्‍यालले बताए ।

नेपालले लिने वैदिशक ऋणको ब्याज र साँवा नेपाली मुद्रामा नभई डलरमा तिर्नुपर्ने हुन्छ। नेपालले विश्व बैंक, एशियाली विकास बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतबाट ऋण लिँदै आएको छ।

राष्ट्रिय ढुकुटीमा विदेशी मुद्रा सञ्चिति घट्ने अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकारले सोही बमोजिम आवश्यक रणनीति बनाएर अघि बढ्नुपर्ने अर्थविद्‌हरूको सुझाव छ।

Top