साउदीमा आप्रवासी श्रमिकमा कोरोना सङ्क्रमण धेरै, उच्च सतर्कता अपनाउन आग्रह

काठमाण्डौ – साउदीमा आप्रवासी श्रमिकमा कोरोना सङ्क्रमण उच्च भएको भन्दै उच्च सावधानी अपनाउन साउदी सरकारले अनुरोध गरेको छ । साउदीमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्या बढ्दै गएको र सङ्क्रमितमध्ये आव्रवासी श्रमिक धेरै भएको भन्दै साउदी सरकारले सावधानी अपनाउन भनेको हो ।

साउदीमा अहिलेसम्म ३१ हजार ९३८ जनामा कोरोना सङ्क्रमण भएको छ । बुधबार मात्रै १ हजार ६ सय ८७ जनामा संक्रमण भएको साउदीले जनाएको छ । सङ्क्रमितमध्ये ६ हजार ७८३ जना निको भएका छन् भने २०९ जनाको कोरोनाका कारण ज्यान गएको छ ।

साउदीमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म ४१ जना नेपालीमा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ६ जना निको भएका छन् । दूतावासका अनुसार साउदी सरकारसँग सङ्क्रमित नेपाली नागरिकको जानकारी दिन अनुरोध गरिएको र साउदीले क्षेत्रगत हिसाबमा जानकारी उपलब्ध गराउने जनाएको छ ।

यस्तै दूतावासले महामारीबाट आफूलाई परेको समस्या दूतावासमा टिपाउन अनुरोध गरेको छ । साउदीमा समस्यामा पर्ने नेपालीको तथ्याँक एकीकृत रुपमा सङ्कलन गरिरहेको दूतावासले समस्या टिपाउँदा आफ्नो नाम, जिल्ला, पासपोर्ट नम्बर, पुरानो इकामा नम्बर, बोर्डर नम्बर, काम, काम गरेको अवधि र अनुभव, काम गर्ने कम्पनीको नाम, नेपालबाट पठाउने म्यानपावरको नाम जस्ता विवरणहरु उल्लेख गर्न अनुरोध गरेको छ ।

अन्य देशमा रहेका नेपाली दूतावासले अनलानमार्फत श्रमिकको विवरण सङ्कलन गरिरहेको भए पनि साउदीमा रहेको नेपाली दूतावासले भने ठूलो संख्यामा अनलाइन फारम भरेर पेश गर्न सहज नभएको भन्दै टेलिफोनबाटै विवरण संकलन गरिएको र दूतावासमा फोन गरेर नै आफ्नो विवरण टिपाउन अनुरोध गरेको छ । टेलिफोनबाटै विवरण टिप्दा सहज भएको दूतावासको भनाइ छ ।

Top