चीनबाट फर्कन सक्ने एक हजार अमेरिकी कम्पनीलाई भारत ल्याउने प्रयासमा मोदी सरकार

नयाँदिल्ली। भारत सरकारले चीनमा रहेका अमेरिकी कम्पनीहरूलाई भारतमा कम्पनी सार्ने कूटनीतिक प्रयास अघि बढाएको छ। चीनमा स्वास्थ्य सामग्री उत्पादन गरिरहेका ठूलामध्येका अमेरिकी कम्पनी एबोट ल्याब्रोटरिज, मेडट्रोनिकलगायतलाई चीन छाडेर भारतबाट उत्पादन शुरु गराउने पहल भारत सरकारले गर्न थालेको हो।

अमेरिका र चीनको सम्बन्ध बिग्रिरहेको अवस्थामा कतिपय अमेरिकी लगानीकर्ता आफ्ना कम्पनी चीनबाट अन्य देशमा सार्न खोजिरहेका छन्। यहीबेला भारत सरकारले अमेरिकी व्यवसायीहरूलाई भारतमा ल्याउने पहल थालेको भारतीय पत्रिका इकोनोमिक टाइम्सले लेखेको छ।

चीनबाट बाहिर निस्किन खोजेका करिब एक हजार अमेरिकी कम्पनीलाई भारतमा ल्याउन आकर्षक सुविधासहितको इन्सेन्टिभ दिने प्रस्ताव भारत सरकारले आफ्ना कूटनीतिक नियोगमार्फत पठाएको छ।

भारतले अहिले विशेषगरी, स्वास्थ्य सामग्री उत्पादन, खाद्यान्‍न प्रशोधन, लत्ताकपडा, छालाका सामग्री र सवारीका पार्टपूर्जालगायत पाँच सय ५० भन्दा बढी बस्तु उत्पादन गरिरहेका व्यवसायीहरूसँग छलफल गरिरहेको बताइएको छ।

भारतीय अधिकारीहरूले स्वास्थ्य सामग्री उत्पादन गर्ने अमेरिकी कम्पनीहरू एबोट ल्याब्रोटरिज, मेडट्रोनिकलाई चीनबाट भारतमा सार्न सफल हुनेमा विश्‍स्त रहेको बताएको इकोनोमिक टाइम्सले उल्लेख गरेको छ। ती कम्पनीहरूले भने भारतको प्रस्तावमा जवाफ दिइसकेका छैनन्।

ती कम्पनीहरू जापान वा अमेरिका नै फर्किन चाहँदा प्रशस्त मात्रामा लगानी चाहिने र भारतले उद्योगको जमिन र कामदार पनि सस्तो मूल्यमा उपलब्ध गराउन सक्ने बताइएको छ।

कोभिड-१९ को विश्‍व्यापी महामारी नियन्त्रण गर्न चीनले असहयोग गरिरहेको आरोप अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले लगाइरहेका छन्।

भारतले मात्रै होइन, जापानले पनि छिमेकी देशबाट कारखाना सार्नको लागि २.२ अर्ब अमेरिकी डलर विनियोजन गरेको छ। युरोपियन युनियनमा आबद्धलगायतका देशहरूले पनि चिनियाँ आपूर्तिमा निर्भरता घटाउने योजना बनाएका छन्।

Top