सवारी पासको समस्याले उद्योगहरु खुले पनि संचालन गर्न समस्या, कर्मचारी कार्यालय पुग्नै सकेनन्

काठमाडौं :सरकारले शुक्रबार (हिजो) विभिन्न ४४ किसिमका उद्योग व्यवसाय सञ्चालन गर्न अनुमति दिए पनि सवारी पासको समस्याका कारण शुक्रबार उद्योगहरु संचालन हुन सकेनन् ।

सरकारले कोरोना भाइरसको संक्रमण न्युनिकरण गर्न मुलकैभरी गत चैत्र ११ गतेदेखि लकडाउन गरेको छ । सो समयदेखि सरकारले अति आवश्यकभन्दा बाहेक सर्वसाधारणलाई हिंड्डुल गर्न दिएको छैन । सवारी पास नभएका मानिसहरुलाई कार्यालय जान आउन समस्या भएको छ । सवारी पासका कारण श्रमिकहरुलाई उद्योगसम्म पुर्याउन चुनौतीपूर्ण भएको उद्योग परिसंघका अध्यक्ष सतिश मोरले बताए । ‘कामदारहरुलाई पासकै कारण काममा आउन समस्या भएको छ ।’ अध्यक्ष मोरले भने । सम्बन्धीत कम्पनीको परिचयपत्रलाई मान्यता दिएर काममा जान अनुमति दिनुपर्ने उनले बताए । यस विषयमा सरकारसँग माग गरेको अध्यक्ष मोरको भनाइ थियो ।

सरकारले उद्योग खोल्ने निर्णय गरेपनि वातावरण सहज नभएकाले पूर्ण रुपमा उद्योग संचालन गर्न नसकिएको अटोमोबाइल्स एशोसियशन अफ नेपाल (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले बताए । सरकारले उद्योग खोल्ने निर्णय गरेपनि जिल्ला प्रशासन कार्यालयले पास दिन नमानिरहेकाले उद्योग संचालन गर्न समस्या भइरहेको उनले बताए । ‘सिडियो कार्यालयले पास दिनै मानिरहेको छैन ।’ अध्यक्ष दुलालले भने । उद्योग क्षेत्रमा काम गर्ने लाखौं कर्मचारी तथा मजदूरलाई पास दिन सम्भव नभएकाले सम्बन्धीत उद्योगको परिचयपत्रलाई मान्यता दिनुपर्ने दुलालको भनाइ थियो ।

सरकारले उद्योग खोल्ने निर्णय गरेपनि मन्त्रालय, मन्त्रालयवीचमा समन्वय नहुनु नै सबैभन्दा ठूलो समस्या भएको उद्योगी व्यवसायीको भनाइ छ । उद्योग मन्त्रालय उद्योगमा काम गर्नेलाई छोड भन्ने, गृह मन्त्रालय अन्र्तगतको प्रहरीले उद्योग क्षेत्रमा मजदूरलाई बाहिर निस्कन नदिने गर्दा उद्योग संचालनमा समस्या भएको नेपाल चेम्बर्स अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । ‘काम गर्ने मान्छे आउने कसरी, जाने कसरी, अनि कसरी चल्छन् उद्योग ?’ अध्यक्ष श्रेष्ठले भने । सरकारले केही उद्योग व्यवसाय सञ्चालन गर्न दिए पनि श्रमिकहरुलाई सहज रुपमा आवतजावत गर्ने व्यवस्था नगरेका कारण समस्या भएको उनको भनाइ छ ।

उद्योग क्षेत्रमा काम गर्ने अधिकांश कर्मचारी तथा मजदूरहरु आ–आफ्ना घरमा गएका छन् । सरकारले विना पास कुनै पनि व्यक्तिलाई बाहिर हिँड्डुल गर्न दिएको छैन । यस्तो अवस्थामा एक जिल्लाबाट अर्काे जिल्लामा जान दिने कुरै भएन । जसका कारण बिदामा बसेका कर्मचारीहरु काममा फर्कन सकिरहेका छैनन् । त्यसका साथै उद्योग सञ्चालन गर्न कच्चा पदार्थ ढुवानी लगायतका काममा पनि समस्या भएको उद्योगीहरुको भनाइ छ । सरकारले उद्योग मात्रै खोल्ने निर्णय गरेको तर काम कसरी गर्ने भन्ने वातावरण नबनाएका कारण उद्योग संचालनमा कठिनाई भएको उनीहरुको भनाइ छ ।

Top