बैंक/बिमा/सेयर साउनदेखि लगानीकर्ताले अनिवार्य अनलाइन कारोबार गर्नुपर्ने

नेपाल स्टक एक्सचेन्जले साउनदेखि पूर्ण रुपमा अनलाइन कारोबार गर्न निर्देशन जारी गरेको छ। राफसाफका लागि पनि लगानीकर्ताले साउनदेखि मेरो शेयर अनिवार्य प्रयोग गर्नु पर्नेछ। नेप्सेले यसका लागि साउनसम्म मेरो शेयरको खाता खोल्दा नि:शुल्क हुने व्यवस्था गरेको छ।

नेपाल धितोपत्र बोर्डले शुक्रबार दोस्रो बजार सञ्चालन गर्न निर्देशन जारी गरेसँगै नेप्सेले मंगलबारदेखि बजार दुई घण्टा खुल्ने जनाएको छ। नेप्सेले मंगलबारदेखि कारोबार सुचारु गर्नका लागि सम्पूर्ण सदस्य दलाल, लगानीकर्तालगायत सबैलाई ९ बुँदे निर्देशन जारी गरेको छ।

यस्ताे छ नेप्सेकाे निर्देशन

१. धितोपत्रको दोस्रो बजार कारोबारलाई दैनिक २ घण्टा बिहान ११ बजेदेखि १ बजेसम्म सञ्चालन गर्ने।

२. प्रारम्भिक कारोबार सत्रमा मूल्य प्रविष्टी गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको एक प्रतिशतसम्म परिवर्तन हुन सक्ने र कारोबार आदेश प्रविष्टी गर्दा २ प्रतिशतसम्म परिवर्तन हुन सक्ने व्यवस्था गरी समयमा दिनको ३ प्रतिशत भन्दा बढी परिवर्तन हुन नदिने।

३. धितोपत्र बिक्रीको भुक्तानी गर्दा अनिवार्य रूपमा आइपिएस वा विद्युतीय माध्यममार्फत् गर्नुपर्ने र धितोपत्र खरिद गर्दा आइपिएस वा विद्युतीय माध्यममार्फत् गर्न प्रोत्साहित गर्ने। तर २०७७ साउनदेखि अनिवार्य रुपमा विद्युतीय माध्यमबाट मात्र गर्नुपर्ने।

४. लगानीकर्ताले मेरो शेयरको खाता खोली सोही खाताबाट अनिवार्य इडिआइएसमार्फत् राफमाफ गर्ने व्यवस्था गर्ने। २०७७ असार मसान्तसम्म मेरो शेयरको नयाँ खाता खोल्दा कुने पनि शुल्क नलाग्ने। सम्पूर्ण निक्षेप सदस्यको केन्द्रीय कार्यालयमार्फत् राफसाफको व्यवस्था गर्ने।

५. धितोपत्र दलालले विनियमावलीमा व्यवस्था भए बमोजिमको लगानीकर्ताबाट अनिवार्य रुपमा मार्जिन लिने विद्यमान प्रावधानलाई कडाइका साथ लागू गर्ने।

६. नेप्से परिसूचक २ प्रतिशतले घटी बा बढी भएमा सो दिनको कारोबार बन्द गर्ने ।

७. २०७७ असार मसान्तसम्म अनलाइनबाट कारोबार गर्ने लगानीकताहरुसँग पासवर्ड र युजर आइडी प्राप्त गर्न ग्राहकसँग कुनै शुल्क नलिने । २०७७ साउनदेखि नियमानुसार तोकिएको शुल्क तिरेरमात्रै पासवर्ड र युजर आइडी लिन सक्ने व्यवस्था गर्ने।

८. सिडिएसको प्रणालीबाट आउने औसत मूल्यलाई धितोपत्र दलालले म्यानुअल इन्ट्री गर्न नपर्ने व्यवस्था रहेको हुँदा सो अनुरुप कारोबार गर्ने व्यवस्था मिलाइने।

९. लगानीकर्ताहरूको गुनासा समाधान गर्ने सम्बन्धमा सहायता कक्षको व्यवस्था गर्ने।

Top