भारतमा लखेटिएका नेपाली भन्छन्- हामी गलिसक्यौं, अझै प्रवेश नदिए सामूहिक मर्छौं

काठमाडौं । नोभेल कोरोना भाइरसका कारण ४८ दिनदेखि सीमा नाका बन्द छन् । देश लकडाउनमा छ भने अन्तर्राष्ट्रिय उडान ठप्प छन् । नेपालजस्तै सीमा जोडिएको छिमेकी भारतमा पनि देशव्यापी लकडाउन घोषणा गरिएको छ । जसका कारण भारतमा रहेका हजारौं नेपाली अलपत्र छन् ।

रोजगारीका लागि भारतका विभिन्‍न ठाउँमा रहेका नेपालीहरुले काम पाएका छैनन् । काम नपाउँदा दैनिक काम गरेर गुजारा चलाउनेहरुलाई हातमुख जोड्‌न पनि धौधौ भयो । पराई देशमा यसरी समस्या झेल्नुभन्दा स्वदेशमै कर्म गर्ने र घरकै रुखोसुखो खाने आशमा पीडाका पहाड छिचोल्दै जन्मभूमिको सीमामा आइपुगे । तर, जब जन्मभूमिको ढोका बन्द भएको देखे, उनीहरु निराश भए । भारतबाट आएकाहरुले नोभेल कोरोना भाइरसको संक्रमण गराउनसक्ने भन्दै उनीहरुलाई नेपालको ढोका बन्द गरियो ।

चीनमा रहेका नेपालीहरुलाई हेलिकोप्टरमा स्वेदश फर्काउने सरकाले हामीलाई किन ढोका बन्द गर्‍यो भन्दै भारतबाट नाराबाजी गरे । तर, केही सीप चलेन । केहीले महाकालीमा हाम्फालेर स्वदेश फर्किन प्रयास गरे पनि प्रहरीले नियन्त्रणमा लियो । यसरी महाकालीमा हाम फालेर आउनेमध्ये एकजना अझै बेपत्ता छन् । बाँकीलाई भारतकै आश्रयमा क्‍वारेन्टाइनमा राखियो ।

घरको आँगनमा पुगेर दलानमा टेक्न नपाएको पीडा एकातिर थियो भने क्‍वारेन्टाइनमा बस्‍ने समय १४ दिन पूरा भएपछि स्वास्थ्य जाँच गरेर स्वदेश फर्किन पाउने आशा पनि थियो । त्यही आशाले क्‍वारेन्टाइनको समस्या र घर परिवारका यादहरु औंला भाचेर १४ दिन कटाए । क्‍वारेन्टाइनमा थप सात दिन बस्‍नुपर्ने भनियो । २१ दिन पनि कट्यो । तर, स्वदेश फर्किन पाएनन् ।

उनीहरुले त्यहीबाट नेपाल फर्किन नपाएको झोंकमा नाराबाजी गरे । भारतको पिथौरागढस्थित क्‍वारेन्टाइनले पनि अब धेरै उनीहरुलाई पाल्‍न नसक्‍ने भन्दै नेपाली प्रशासनलाई जनाएपछि नेपाल सरकारको पहलमा बाध्य भएर ३४ दिनपछि बैतडीको झुलाघाट नाकाबाट १८ वैशाखमा १ हजार २९९ नेपालीको उद्धार गरेर स्वेदश फर्काइयो । उनीहरुलाई स्वेदश फर्काएर १४ दिन क्‍वारेन्टाइनमा राखिएको छ र आरडीटी जाँचपछि मात्रै घर जान दिइने बताइएको छ ।

भारतको दिल्ली, मुम्बई, बैंग्लोरलगायतका सहरबाट फर्किनेएकाहरु पनि अझै भारतमै अलपत्र परेका छन् । करिब ४०-४५ दिनदेखि खटिमाको क्‍वारेन्टाइनमा बसेका थिए । उनीहरुलाई त्यहाँ नि:शुल्क खाना खुवाएर राख्‍न नसकिने भन्दै निस्कासन गरिएपछि पैदल हिँडेर नेपाल प्रवेश नाकामा पुगेका थिए ।

उनीहरु ९० किमि हिँडेर खटिमा हुँदै कञ्चनपुरको महाकाली नगरपालिकाको बाबाथान पुगेका थिए । त्यहाँबाट नेपाल प्रवेश गर्न खोज्‍ने क्रममा भारतीय एसएसबीले कुटपिट गरेर लखेट्यो । एसएसबीको कुटाइबाट घाइते भएकाहरु वनबासा हुँदे पैदल हिँडेर फेरि खटिमा पुगे । यसरी तीन दिन लगातार हिँडेका उनीहरुलाई शनिबार दिउँसो भारतीय राष्ट्रिय कांग्रेस उत्तर प्रदेशका महासचिव भुवन कापडीको नेतृत्वमा खाना र पानीको व्यवस्था भयो ।

करिब डेढ महिनापछि एकसाथ पानी र खाना पाएको पहिलोपटक भएको अलपत्र एक नेपालीले बताए । खाना व्यवस्था भए पनि उनीहरुलाई बासको समस्याका कारण सडकमै अलपत्र थिए । शनिबार साँझ ४० जनाको क्षमता भएका बसमा ९०/९० जना राखेर राति साढे ११ बजे रुद्रपुर पुर्‍याइयो । अहिले करिब ३०० नेपाली रुद्रपुर क्‍वारेन्टाइनमा राखिएको सीमामा पुगेर फर्काएका मानबहादुर महराले जानकारी दिए ।

उनले आफूहरु नेपालमै क्‍वारेन्टाइनमा बस्‍न तयार रहेकाले जसरी पनि नेपाल फर्काउन माग गरेका छन् । एउटै कोठामा करिब २०० जना राखिएकोसमेत उनले बताए । एउटै कोठामा २०० जना राखिँदा यदि कसैलाई कोरोना रहेछ भने पनि सबैलाई संक्रमण हुने जोखिम पनि उत्तिकै छ ।

यदि कोरोना संक्रमण भए १४ देखि २१ दिनभित्र लक्षणको विकास हुन्छ र ज्वरो, सुक्खा खोकीजस्ता लक्षण देखिन्छन् । उनीहरु त्यहाँ बसेको ४५ दिनभन्दा बढी भइसकेको छ । यसको अर्थ यसअघिसम्म उनीहरुलाई कोरोना संक्रमण नभएको थाहा पाउन सकिन्छ । आँगनमा पुगेर ढोका बन्द गरिएपछि फर्किएकाहरु भन्छन्, “अब गलिसक्यौं । अझै नेपाल प्रवेश गर्न दिएन भने सामूहिक मर्छौं ।”

डडेलधुराको पर्शुराम नगरपालिका १०, कुर्मुल्लेका सुशील जोशीले भने, “हामी बाँच्‍न चाहन्छौं । न हामीलाई खाना छ न सुत्‍ने व्यवस्था । यति दिनसम्म त बाँच्यौं । अब त गलिसक्यौं । अझै पनि नेपाल प्रवेश नपाए सामूहिक मर्छौं ।”

उनीसँगैका अन्यले पनि सरकारलाई जसरी पनि आफ्नै देश फर्काउन पहल गरिदिन आग्रह गरिरहेका थिए । उनीहरुले भने, “सरकारले जे-जे भन्छ, त्यही मान्छौं । मर्नै परे आफ्नै भूमिमा मर्छौं । महाकाली पुलका ढोका खोलिदिनुपर्‍यो ।”

‘नागरिककों नही बुला रहा नेपाल’

भारतीय पत्रिका अमर उजालाले नेपालले आफ्ना नागरिकलाई स्वदेश नबोलाएको शीर्षकमा समाचार लेखेको छ । भारतको उत्तराखण्ड र उत्तरप्रदेशमा रहेका अन्य पत्रपत्रिकाहरुले पनि नेपाल आफ्ना नागरिक फिर्ता गर्न नचाहेको समाचारहरु लखेका छन् ।

अमर उजालाले लेखेको छ, “नेपाल आफ्ना नागरिकलाई फिर्ता लैजान लापरबाही गरिरहेको छ । कैयौंपटक पत्राचार गर्दा पनि नेपाल आफ्ना नागरिकलाई फिर्ता लैजान उदासीन रवैया देखाइरहेको छ । नेपाली मजदुरको क्‍वारेन्टाइनको अवधि पूरा भइसकेपछि पनि काम उपलब्ध गराउँदा पनि काम गर्न तयार छैनन् । घर फर्किन चाहेका छन् ।”

भारतले विभिन्‍न मुलुकमा रहेका आफ्ना नागरिकलाई फिर्ता ल्याउने अभियान चालेको छ । उनीहरुलाई स्वदेश ल्याएर क्‍वारेन्टाइनमा राख्‍ने व्यवस्था मिलाएको छ । त्यसैगरी भारतभित्रै पनि विभिन्‍न राज्यमा रहेका आप्रवासी मजदुरलाई उनीहरुको राज्यमा फिर्ता गर्न राज्य सरकारमार्फत पहल गरिएको छ ।

तर, नेपालले भने सीमामै पुगेका नेपालीहरुलाई समेत पिठ्युँ फर्काएको छ । नेपालले जेठ १८ सम्म नाका बन्द गरेको छ भने जेठ ५ गतेसम्म लकडाउको अवधि बढाएको छ । भारतमा पनि १७ मे अर्थात् ४ जेठसम्म लकडाउनको अवधि थप गरेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ भारतमा कोरोना संक्रमितको संख्या ६२ हजारभन्दा बढी पुगेको छ भने दुई हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा कोरोनाको जोखिम बढी भएकाले भारतका विभिन्‍न स्थानमा रहेका नेपालीका आफन्तले नेपालको प्रशासनलाई आफ्ना आफन्तलाई स्वेदश फर्काउन पहल गरिदिन आग्रह गरेका छन् ।

Top