डेढ लाखको रोजगारी जोखिममा

विश्भर फैलिरहेको कारोनाभाइरस संक्रमणबाट जोगिन सरकारले गरेको लकडाउन अझै लम्बिए काठजन्य उद्योगमा कार्यरत करिब डेढ लाख श्रमिकको रोजगारी जोखिममा पर्नसक्ने व्यवसायीहरूले बताएका छन् । लकडाउनसँगै काठ कटानको प्रक्रिया रोकिएपछि कच्चा पदार्थको अभाव भइ काठजन्य उद्योगमा कार्यरत डेढ लाख श्रमिकको रोजगारी जोखिममा परेको हो ।

नेपाली बजारमा काठको अभाव भई आपूिर्तमा ठूलो गिरावट हुनसक्ने देखिएको छ । काठ संकलनको समयमा नै लकडाउन भएपछि जंगलबाट काठ संकलन हुन नसक्दा बजारमा काठको मागअनुसार आपूर्ति व्यवस्थापनमा समस्या भई बजारमा गिरावट आउन सक्ने देखिएको छ । काठको अभावमा काठजन्य उद्योग बन्द हुन सक्ने र कयौंको रोजगारी पनि गुम्ने खतरा छ ।

सरकारले लामो समयसम्म अझै पनि लकडाउन गरेमा काठ संकलनको अवधि सकिने र बजारमा काठ हाहाकार हुन सक्ने भन्दै काठ व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन् । वन नियमवालीअनुसार फागुन महिनादेखि जेठसम्म मात्रै काठ दाउरा संकलन गर्न सकिने व्यवस्था छ । काठ संकलन गर्ने प्रमुख अवधिमा नै लकडाउन भएसँगै हाल काठ दाउरा संकलनको कार्य पनि ठप्प रहेको छ । काठ व्यवसायीहरूले भने लकडाउन लम्बिने हो भने बजारमा काठ आपूर्ति नै ठप्प हुन सक्ने भन्दै वन तथा वातावरण मन्त्रालय, प्रत्येक प्रदेशका उद्योग, पर्यटन , वन तथा वातावरण मन्त्रालयललाई काठ संकलनको अवधि बढाउन र लकडाउनको समय पनि काठ संकलनको प्रक्रिया यथावत् राख्न माग गर्दै आइरहेका छन् ।

नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघकोे अनुसार वार्षिक २ करोड क्यूफिटको हाराहरीमा काठ उत्पादन हुँदै आएको छ । तर, नेपाली बजारमा ४ देखि ५ करोड क्यूफिट काठको माग छ । माग अनुसार बजारमा काठको आपूर्ति व्यवस्थापन सहज नभईरहँदा लकडाउनका कारण झनै काठ संकलनको प्रक्रिया पनि रोकिएको र काठ आपूर्ती व्यवस्थापन ठप्प हुन सक्ने अनुममान गरिएको छ ।
नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष श्यामसुन्दर ढकालले यदी लकडाउनको अवधिमा पनि काठ संकलनको प्रक्रिया खुकुलो नबनाईए बजारमा कच्चा पदार्थको अभाव भइ काठजन्य उद्योग बन्द हुने र करिव डेढ लाख श्रमिकको रोजगारी गुम्ने बताए । “२ बर्षसम्म नेपाली बजारमा काठ आपूर्ती बिहीन हुन सक्छ, यसले गर्दा कच्चा पदार्थको अभाव देखिन्छ, अहिले काम गर्ने वा काठ संकलन गर्ने समय हो, वन नियमवालीले तोकिदिको समय (फागुनदेखि जेठ) नथप्ने र लकडाउनको अवधिमा पनि काठ संकलन गर्न पाउने व्यवस्था नहुने हो भने, काठ उत्पादन हुन फेरि आगामी कात्तिक कुर्नुपर्ने हुन्छ, यसो हुँदा आगामी २ बर्ष नै काठ आपूर्ती ठप्प हुनसक्छ,” उनले भने, “काठ बजारमा नहुँदा विकास निर्माणका कामहरू ठप्प हुन सक्छ, र लाखौंको रोजगारी गुम्न सक्छ ।”

काठको लगत लिने, छपान गर्ने, कटान, काठगद्धी, फेरि लगत लिने, डेन्डर स्वकृतीमा जानुपर्ने, चेकजाँच गर्नुपर्ने लगायतका झन्झटिलो प्रक्रिया पूरा गर्न समय बढि लाग्ने भएकाले बजारसम्म काठ आईपुग्न समय लाग्ने उनको भनाई छ । पूर्व वनसचिव डा. कृष्णचन्द्र पौडेलले भने काठ व्यवसायीहरूको स्वार्थका कारण अहिलेको विषम परिस्थितिमा काठ संकलन गर्ने माग आए पनि जायज नभएको भन्दै आलोचना गरेका छन् ।

Top