साउनदेखि अनलाइन कारोबारको आईडी र पासवर्ड लिन शुल्क लाग्ने

काठमाडौं । आगामी आर्थिक वर्ष २०७७-७८ साउन देखि अनलाइन सेयर कारोबार गर्दा चाहिने युजर आईडी र पासवर्ड लिन शुल्क लाग्ने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आइतबार ९ बुँदे सूचना सार्वजनिक गर्दै हाल युजर आईडी र पासवर्ड लिएबापत शुल्क नलाग्न भए पनि आगामी आर्थिक वर्षबाट तोकिएको शुल्क लिने जानकारी दिएको हो ।

सरकारले लकडाउन केही खुकुलो बनाएर बैंक तथा वित्तीय क्षेत्र, बिमा र धितोपत्र तथा सहकारी संस्थामार्फत हुने अति आवश्यक सेवा प्रवाह गर्न दिने निर्णय गरेसँगै सेयर कारोबार सुचारु हुन लागेको हो । कोरोना भाइरसको माहामारीको प्रभावका कारण गत १० चैत्रबाट बन्द रहेको सेयर कारोबार मंगलबारदेखि सञ्चालनमा ल्याउन नेप्सेले सूचना जारी गर्दै असार मसान्तसम्म युजर आईडी र पासवर्ड लिने लगानीकर्ताबाट शुल्क नलिने जनाएको छ ।

अनलाइन लिँदा लगानीकर्ताबाट मार्जिन लिने प्रावधानसमेत कडाइका साथ लागू गरिने नेप्सेले जनाएको छ । लगानीकर्ताहरूको गुनासो समाधान गर्न सहायता कक्षको व्यवस्था गर्ने, सेयर कारोबार दिनमा २ घण्टा (११ बजेदेखि १ बजेसम्म) गर्ने, नेप्से परिसूचकमा २ प्रतिशत बढी उतारचढाव आए सो दिनका लागि कारोबार बन्द गर्ने, धितोपत्रको भुक्तानी अनिर्वाय विद्युतीय माध्यमबाट गर्ने नेप्सेले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले सेयर बजार खोल्न वैशाख २६ गते निर्देशन दिइसकेको छ । सोहीअनुसार नेप्सेले आगामी मंगलबारदेखि सेयर कारोबार सूचारु गर्न नौवटा नयाँ नियम सार्वजनिक गरेको हो । नेप्सेले सम्पूर्ण सदस्य दलाल, लगानीकर्तालाई नयाँ नियमअनुसार कार्य गर्न निर्देशन दिएको छ ।

साथै लगानीकर्ताले मेरो सेयरमा खाता खोली अनिर्वाय रूपमा इडीआईएसमार्फत राफसाफ गर्ने उल्लेख गरेको छ । लगानीकर्तालाई आफ्नो डिम्याट खाता अद्यावधिक गर्नसमेत नेप्सेले आग्रह गरेको छ । मंगलबारदेखि सेयर कारोबार हुँदा सेयर कारोबारका लागि लगानीकर्ताले आदेश दिनुअघि लगानीकर्ताको डिम्याट खातामा भएको सेयर जाँच गर्ने व्यवस्था गरिएकाले नेप्सेले डिम्याट अद्यावधिक गराउन आग्रह गरेको हो ।

यससँगै अब सेयर बिक्री गर्ने लगानीकर्ताले बिक्री अर्डर दिँदा उसको खातामा पर्याप्त सेयर छ कि छैन भन्ने जाँच हुने नेप्सेले जनाएको छ । त्यस्तै लगानीकर्ताले एउटा डिम्याट खाता एउटा कारोबार खातासँग मात्र आबद्ध गराउन सकिनेसमेत नेप्सेले जनाएको छ ।

Top