आजदेखि सेयर बजार खुल्ने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को प्रभावका कारण बन्द रहेको सेयर बजार मंगलबारदेखि खुल्ने भएको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ का कारण गत १० चैतबाट बन्द भएको थियो । ५० दिनको अन्तरालपछि बजार खुल्न लागेको हो ।

सरकारले लकडाउन खुकुलो बनाएर बैंक तथा वित्तीय क्षेत्र, बिमा र धितोपत्र तथा सहकारी संस्थामार्फत हुने अति आवश्यक सेवा प्रवाह गर्न दिने निर्णय गरेसँगै सेयर बजार सुचारु हुन लागेको हो । असामान्य परिस्थितिलाई मध्यनजर गर्दै सेयर बजारबाटै आफ्नो दैनिकी चलाउँदै आएका लगानीकर्तालाई ध्यानमा राखेर अनलाइनमार्फत मात्रै कारोबार हुने सेयर बजार खोल्न लागिएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिह साउदले बताए । उनले भने, ‘ट्रेडर करिब ३५ हजार लगानीकर्ता रहेका छन् जसमध्ये करिब २२ हजार लगानीकर्ता अनलाइनमा आबद्ध छन् ।’ अनलाइनबाट कारोबार गर्दा ब्रोकर कार्यालयमा जानुपर्ने हुदैन । सेयर खरिद सेटलमेन्टलगायतका सबै कार्य अनलाइनमार्फत नै हुने बताए ।

बोर्डले नेप्सेमा कोरोना प्रभाव रहेसम्म २ प्रतिशतमा सर्किट ब्रेकर लगाउन भनेको छ । यस्तै ब्रोकरले क्लाइन्टलाई भुक्तानी गर्दा अनिवार्य विद्युतीय माध्यमबाट गर्नुपर्ने, क्लाइन्टले ब्रोकरलाई भुक्तानी गर्दा सकेसम्म विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको छ ।

नेप्सेको आजदेखि खुल्ने सेयर कारोबारमा १ प्रतिशत पनि लगानीकर्ता आबद्ध नहुने नेपाल इन्भेस्टर फोरका अध्यक्ष छोटेलाल रौनियारले बताए । उनले भने, ‘अनलाइनमा आबद्ध नभएका लगानीकर्ता २० लाख छन् । अनलाइनमा आबद्ध २० हजार जति छन् । त्यसमा पनि मेरो सेयरमा आबद्ध भएका ३/४ हजार लगानीकर्ता मात्रै रहेका छन् ।’ केही लगानीकर्ताले दबाब दियो । अन्तर्राष्ट्रिय दबाब आयो भन्दै बजार खोल्नुको औचित्य नरहेको रौनियारले बताएका छन् । उनले अनलाइन प्रणाली अन्र्तराष्ट्रिय स्तरको नभएकाले लगानीकर्ता पूर्णरूपमा अनलाइनमा आबद्ध हुन नसकेको बताए । दिनमा २ घण्टा मात्रै सञ्चालन हुने सेयर बजारका लागि नेप्सेले लगानीकर्ताको गुनासो समाधान गर्न सहायता कक्षको व्यवस्था गरेको छ ।

Top