सुनौली नाका नजिकै भारतीय क्वारेन्टाइनमा रहेका ९७० नेपालीलाई भित्र्याइँदै

तिलोत्तमा, रुपन्‍देही — रुपन्देहीको मुख्य सुनौली नाका नजिकै विभिन्न क्वारेन्टाइनमा रहेका करिब एक हजार नेपालीलाई मुलुक प्रवेश गराउने तयारी भएको छ ।
रुपन्देही प्रशासनले जिल्लामा क्वारेन्टाइनस्थल र पीसीआर परीक्षणको व्यवस्था गरेर पहिलो लटमा भारतीय क्वारेन्टाइनमा १४ दिन बसिसकेका ९ सय ७० जनालाई भित्र्याउने तयारी भइरहेको जनाएको छ । जतिसक्दो छिटो भित्र्याउन तयारी गरिए पनि पर्याप्त क्वारेन्टाइन र परीक्षण किट उपलब्ध नभएकाले ढिलो भएको प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए ।

लामो समयदेखि दशगजा क्षेत्रमा रोकिएका प्रवासी नेपालीलाई भित्र्याउने मंगलबारबाट तयारी थालिएको थियो । जिल्ला प्रशासन र स्थानीय तहले व्यवस्थित रुपमा उनीहरुलाई ल्याउने विषयमा छलफल गरेका छन् । यसरी आउनेको स्वास्थ्य परीक्षणका लागि पर्याप्त पीसीआर किट उपलब्ध भएमा रुपन्देहीका विभिन्न पालिकाका क्वारेन्टाइनमा व्यवस्थापन गर्ने तयारी थाल्न प्रशासनले निर्देशनसमेत दिएको थियो ।

भारतका विभिन्न ९ वटा क्वारेन्टाइनस्थलमा १४ दिन बसिसकेका करिब एक हजार जनालाई ल्याउनेबारेमा छलफल भइरहे पनि यहाँ क्वारेन्टाइन व्यवस्थापन भइनसकेकाले तुरुन्त ल्याउने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पन्थले बताए । ‘अन्य जिल्लाका मानिस पनि यहीँ राख्नुपर्ने भएकाले व्यवस्थापन चुनौती बन्यो,’ उनले भने, ‘आज ल्याउने कि भोलि टुंगो लागि सकेको छैन ।’ प्रवासी नेपाली ल्याउने विषयमा जिल्ला प्रशासनमा भएपछि रुपन्देहीका केही स्थानीय तहले २ सय जना राख्ने गरी व्यवस्थापन सुरु गरिसकेका छन् ।

Top