कारोबार शुरु भएको ३९ मिनेटमै शेयर बजार बन्द

बजार खुलेको ३९ मिनेटमै २ प्रतिशत घटेपछि शेयर बजारमा बुधबार कारोबार बन्द गरिएको छ। ११ बजे नेप्से खुल्नेबित्तिकै बजारमा बिक्री चाप देखिएको थियो।

बुधबार शेयर बजार परिसूचक २४.५८ अंकले घटेर १ हजार २०१ अंकमा ओर्लिएको छ। बुधबारको कारोबारमा सबै उपसूचकहरु ओरालो लागेका छन्। सबैभन्दा धेरै अन्य समूह २.८४ प्रतिशत र ब्याङ्किङ समूह २.४ प्रतिशतले घटेका छन्।

बुधबार सबैभन्दा ७४ कम्पनीका रु. ३६ लाख १३ हजार मूल्यका १० हजार ५२६ कित्ता शेयर किनबेच भए।

बुधबारको कारोबारमा सबैभन्दा धेरै लक्ष्मी ब्याङ्क र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले समान तीन प्रतिशत गुमाएका छन्। कुनै कम्पनीका लगानीकर्ताले पनि बुधबार नाफा गर्न सकेनन्।

बन्दाबन्दी घोषणासँगै शुरु भएको नेप्से ५० दिनपछि मंगलबारबाट खुलेको हो। मंगलबार पनि २ प्रतिशतले बजार घटेपछि नियमित समयअगावै कारोबार बन्द गरिएको थियो। धितोपत्र बोर्डले बजारमा धेरै उथलपुथल हुन नदिन नेप्से सूचक २ प्रतिशत थपघट भए बन्द गर्ने व्यवस्था गरेको छ।

Top