सेयरबजार खुलेको २ दिनमै बन्द गराउन बोर्डको निर्देशन

काठमाडौं । नेपाल धितोेपत्र बोर्डले धितोपत्रको दोस्रो बजारको कारोबार बन्द गर्न निर्देशन दिएको छ । धितोपत्र बजारको नियमक निकाय बोर्डले सेवा प्रदायक नेपाल स्टक एक्स्चेन्जलाई दोस्रो बजारको कारोबार बन्द गर्न निर्देशन दिएको हो ।

“धितोपत्रको दोस्रो बजारको कारोबार बन्द गर्न निर्देशन दिएका छौं, लकडाउनको स्थिति हेरेर अर्को व्यवस्था नहुँदासम्मका लागि कारोबार बन्द गर्ने निर्णय भएको छ,” बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले भने ।

धितोपत्र बजारसँग सम्बन्धित अन्य कार्यालय के हुने भन्ने निर्णय हुन बाँकी रहेको उनले बताए । तर बोर्ड भने नियमित खुल्ने उनको भनाइ छ ।

लकडाउनसँगै बन्द रहेको सेयरको दोस्रो बजार कारोबार ५०औं दिनमा अस्ति (मंगलबार) बाट खुलेको थियो । दैनिक दुई घण्टा कारोबार हुने गरी खुलाइएको बजारमा दुई दिनपछि नै लकडानलाई सरकारले थप कडा बनाएपछि पुनः बन्द गर्ने निर्णय भएको बोर्ड अध्यक्ष ढुङ्गाना बताउँछन् ।

कारोबार खुलेको दुवै दिनमा बजार २–२ प्रतिशतले ओरालो लागेर नेगेटिभ सर्किट लागेर बन्द भएको थियो । लगानीकर्ताका संगठनहरूले भने बजार खोलेकोप्रति विरोध गर्दै आएका थिए ।

Top