सरकारको नीति : कृषि अबको मुख्य रोजगारी, यस्ता छन् कार्यक्रम

काठमाडौं, जेठ २ : सरकारले कृषिलाई मुख्य रोजगारीका रुपमा अघि सार्ने भएको छ।

शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले कृषिलाई प्रमुख प्राथमिकतामा राखेको बताएकी हुन्।

उनले ‘स्वदेशी वस्तुको उपभोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं अभियान’ सञ्‍चालन गरिने बताइन्। यस्तै, भूमि प्रयोगविहीन हुने स्थितिको अन्त्य गर्ने सरकारको लक्ष्य रहेको बताइन्।

यस्ता छन्, नीति कार्यक्रममा समेटिएका कृषि क्षेत्रलाई सम्बोधन गर्ने मुख्य बुँदा
–स्वदेशी वस्तुको उपभोग गरौं, आन्तरिक उत्पादनलाई प्रोत्साहन गरौं अभियान सञ्‍चालन गरिनेछ ।

–कृषिलाई मुख्य रोजगारीको रुपमा विस्तार गरिनेछ । कृषि क्षेत्रको रुपान्तरणका लागि विशेष कार्यक्रम नेपालभर विस्तार गरिनेछ ।

–कृषि उत्पादन, प्रशोधन र बेचबिखनका सम्बन्धमा नेपाल सरकारले उपलब्ध गराउने सहुलियत उपलब्ध गराउनका लागि सूचीकरण गर्न लगाइनेछ ।

–स्थानीय मौलिक खाद्यान्ह, तरकारीबाली र पशुपंक्षीको बहुप्रयोगबारेमा अनुसन्धान गरिनेछ ।

–कृषिलाई आयमुलक, मर्यादित र उत्पादनशील पेशाको रुपमा विकास गरिनेछ ।

–प्राकृतिक वरदानका लागि भूधरातल, जलवायु र जैविक विविधताको अधिकतम उपयोग गरी पोषक र औषधीय गुण भएका उत्पादन गर्न प्रोत्साहन गरिनेछ ।

–भूमि प्रयोगविहीन हुने स्थितिको अन्त्य गर्नेछ । सडक, सार्वजनिक वन क्षेत्र, नदी उकास र उपयोगविहीन सरकारी जमिनमा फलफूल र अन्य विरुवा रोप्नेछ । खेतबारीको कान्लामासमेत दलन र तरकारी लगाउन प्रेरित गरिनेछ । सहरमा कौशी र गमला खेती प्रबर्दधन गरिनेछ।

–कपास, रेशम उन र अन्य विभिन्‍न प्रकारका धागोको लागि उत्पादन र बजार व्यवस्थापन गरिनेछ ।

–माटो जाँचका लागि प्रयोगशाला स्थापना गरिनेछ ।

–कृषकले लागतका आधारमा उचित मूल्य प्राप्त गर्नका लागि व्यवस्था गरिनेछ। र, कृषकको बचत सुनिश्चित गरिनेछ। अण्डामा आत्मनिर्भर भएको नेपाल दूध, मासु र माछाको उत्पादनमा आत्मनिर्भर नजिक पुगेको छ ।

–पशुबाट सर्ने रोग निदान, नियन्त्रण र रोकथामका लागि क्वारेन्टाइन, प्रयोगशाला र उपचारकेन्द्र स्थापना गरिनेछ।

Top