डिजिटल नेपाल : २ वर्षभित्र सबै सरकारी कार्यालयको कारोबार नगदरहित हुने

काठमाण्डौ – सबै सरकारी कार्यालयको कारोबार २ वर्षभित्र नगदरहित बनाइने भएको छ । सबै भुक्तानी विद्युतीय माध्यमबाट गरिनेगरी २ वर्षभित्र सरकारी कार्यालयको कारोबार नगदरहित बनाइने भएको राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रममार्फत घोषणा गर्नुभयो ।

डिजिटल नेपाल फ्रेमवर्क-२०७६ लाई कार्यान्वयनमा ल्याउने पनि राष्ट्रपति भण्डारीले जानकारी दिनुभयो । उत्पादकत्व र उत्पादन अभिवृद्धि गरी सामाजिक र आर्थिक रुपान्तरणका लागि डिजिटल नेपाल फ्रेमवर्क २०७६ लाई कार्यान्वयन गर्दै थप विस्तार गर्नुको विकल्प नभएको उहाँले बताउनुभयो ।

यस्तै इन्टरनेट सेवालाई थप विस्तार र व्यवस्थित गरिने भएको छ । ४ सय ३१ पालिका, ३ हजार ६ सय ३१ वटा वडा, २ हजार ५ सय ४६ स्वास्थ्य केन्द्र र २ हजार ९ सय ४८ सरकारी माध्यामिक विद्यालयमा अहिलेसम्म ब्रोड ब्याण्डको इन्टरनेट पुर्याइएको राष्ट्रपति भण्डारीले बताउनुभयो । सेवा प्रदायकसँग साझेदारी गरी यसलाई थप विस्तार गर्ने लक्ष्य सरकारले लिएको छ ।

यस्तै सरकारी कार्यालयहरुले प्रयोगमा ल्याएका मोबाइल एप्सलाई एकीकृत गरी सहज र प्रविधिमैत्री बनाइने राष्ट्रपतिले घोषणा गर्नुभयो । उच्च हिमाली भेगमा ब्रोडब्याडसहितको इन्टरनेट उपलब्ध गराउने पनि सरकारको लक्ष छ । अबको २ वर्षभित्र देशको आफ्नै स्याट्लाइट स्थापना गरी सेवा प्रदान गरिने राष्ट्रपतिले जानकारी दिनुभयो ।

Top