इटालीले जुन ३ देखि देशभित्र र बाहिरको आवतजावत खुल्ला गर्ने

शनिबार इटाली सरकारले जुन ३ देखि देशभित्र र बाहिर आवतजावत गर्न दिने एक निर्णयमा सहमति दिएको छ।

कोरोना भाइरसका कारण कडा लकडाउन गरेको इटाली हाल त्यसलाई सहज पार्ने प्रक्रियामा छ।

निर्णय अनुसार अब इटालीका नागरिकलाई देशबाहिर जान र अन्य देशका नागरिकलाई इटाली आउन कुनै रोकतोक हुनेछैन्।

सरकारले सोही दिनदेखि देशभित्रको यात्रामाथि लाग्दै आएको रोक पनि हटाउने भएको छ।

त्यहाँका केही क्षेत्रहरूले सामान्यतर्फ फर्किने प्रयास गरिरहेको भएपनि प्रधानमन्त्री जुसेपे कोन्टेले संक्रमणको दोस्रो लहर नआउन दिन क्रमिक हिसाबले सामान्य अवस्थामा फर्किनुपर्नेमा जोड दिदैं आएका छन्।

इटालीमा मात्र कोरोनाको संक्रमणबाट ३१ हजार ६०० भन्दा बढीको मृत्यु भइसकेको छ। मृतकहरूको यो संख्या संयुक्त राज्य अमेरिका र बेलायत पछि विश्वमा तेस्रो धेरै हो।

भाइरस संक्रमण रोकथामका लागि देशव्यापी प्रतिबन्ध लगाउने राष्ट्रमध्ये इटाली पहिलो युरोपेली राष्ट्र हो। मे ४ देखि मात्रै त्यहाँका केही कारखाना र पार्कहरु खोल्ने अनुमति दिइएको थियो।

इटालीमा अन्तर-क्षेत्रीय र विदेशी यात्रामा जून २ सम्म प्रतिबन्ध लगाइएको छ। अब यी सबै रोक जून ३ बाट हट्नेछ।

सरकारले अर्थव्यवस्थाका सबै क्षेत्रहरू पुन: सक्रिय गर्न सक्ने व्यवस्था ल्याएको छ छ।

यद्यपि सबै क्षेत्रमा सुरक्षा नियम अनुसरण गर्नुपर्ने प्रावधान छ।

ती प्रावधानहरूको ध्यान राखिए-नराखिएको राष्ट्रिय स्वास्थ्य अधिकारीहरूले अनुगमन गर्नेछन्।

स्वास्थ्य अधिकारीहरूले सिफारिस गरे अनुसार देशभरका पसल र रेष्टुरेन्टहरूले कडा सामाजिक दूरी र स्वच्छता नियमहरू अन्तर्गत पुनः खोल्न तयारी गरिरहेका छन्।

‘चुनौती निकै ठुलो छ र यस बारे भन्न गाह्रो छ। सबै क्षेत्रमा अनिश्चितता छ’, मध्य-रोमका एक व्यापारीले भने, ‘अनिश्चितताको भावनाले सबै चीज नियन्त्रण गरिरहेको छ।’

Top