काठमाडौंमा नयाँ संक्रमितको संख्या ७ पुग्यो, टेकु अस्पतालमा मात्रै छन् अरू १२ शंकास्पद

काठमाडौं उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुने नयाँ बिरामीकाे संख्या ७ पुगेको छ। जम्मा ४ दिनभित्र यति संख्यामा संक्रमित व्यक्ति फेला परेका हुन्। त्यसमा पनि ४ जना चन्द्रागिरिका मात्रै छन्।

मंगलबारदेखि शुक्रबारसम्ममा उपत्यकाभित्र ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लोपटक शुक्रबार काठमाडौं सतुंगलका ७ वर्षका बालकमा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै सोही दिन संक्रमण पुष्टि भएका दाङ तुलसीपुर उपमहानगरपालिका-७ घर भएका व्यक्ति पनि हाल काठमाडौंकै एक अस्पतालमा कार्यरत व्यक्ति हुन्।

यीसमेत गर्दा उपत्यकाभित्र नयाँ संक्रमितको संख्या ७ पुगेको हो।

यसअघि बिहीबार काठमाडौं दहचोकका ७ वर्षकै बालक र चन्द्रागिरिका ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै यसअघि मंगलबार चन्द्रागिरिकै ३३ वर्षीया महिला तथा भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष कोरोना संक्रमित ठहर भएका थिए।

यसरी काठमाडौं उपत्यकामा मंगलबारदेखि शुक्रबारसम्म ४ दिनभित्र फेला परेका संक्रमितको संख्या ७ पुगेको हो।

अहिले उनीहरू काठमाडौं उपत्यकाभित्रकै विभिन्न अस्पतालको आइसोलेसनमा छन्। तीमध्ये ५ जना टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा छन्।

तीबाहेक अरू १२ जना सम्भावति संक्रमित आइसोलेसनमा रहेको अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले जानकारी दिए।

‘उनीहरूको पीसीआर परीक्षण जारी छ,’ निर्देशक राजभणडरीले शनिबार बिहान नेपालखबरसँग भने, ‘रिपोर्ट आउन बाँकी छ।’

Top