कोरोना त्रास बढेपनि अमेरिकामा घरबाहिर गएर काम गर्नेक्रम जारी

काठमाडौं : अमेरिकामा कोरोना भाइर्स संक्रमण दिनप्रति दिन फैलिंदै गएपनि बहुसंख्यकले आफ्नो घर बाहिर काम गर्ने गरेका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार हरेक १० जना मध्ये ६ जनाले आफ्नो घरभन्दा बाहिर काम गरिरहेका छन् ।

वासिङटन पोष्टले गत अप्रिलको अन्त्यतिर र मे महिनाको सुरुमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो ।उनीहरुले झण्डै ८ हजार जनामा सर्वेक्षण गरेका थिए । उनीहरुको आफूले काम नगर्दा घर परिवारमा समस्या हुने गरेको पनि बताएका थिए ।

पछिल्लो विवरण अनुसार अमेरिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या १४ लाख ४२ हजार ८१९ नाघेको छ भने मृत्यु हुनेको संख्या ८७ हजार ५३० पुगेको छ । हरेक ३ जना मध्ये १ जनाले हरेक हप्तामा कम्तीमा एक पटक कामका लागि घर छाड्ने गरेको पाइएको पनि सर्वेक्षणकर्ताहरुले जनाएका छन् ।

उनीहरु मध्ये धेरैले आफूलाई कोरोना भाइरस संक्रमणको त्रास अत्यधिक हुने गरेको पनि बताएका छन् । उनीहरुलाई विषेश गरेर सार्वजनिक यातायातका साधन प्रयोग गर्दा संक्रमण हुने चिन्ता लाग्ने गरेको सुनाएका थिए ।

सर्वेक्षणका अनुसार कामका लागि घर छाड्ने झण्डै ३५ प्रतिशत अमेरिकी नागरिकहरुले सबै समय मास्क प्रयोग गर्ने गरेका छन् । त्यसैगरी ३९ प्रतिशतले कुनैकुनै बेला मात्रै मास्क प्रयोग गर्ने गरेका छन् ।

Top