साउदीको जेद्दा क्षेत्रमा ३३ कोरोना सङ्क्रमित नेपाली निको भए, तीन जनाको ज्यान गयो

काठमाण्डौ – साउदीको जेद्दा क्षेत्रमा तीन जना नेपाली श्रमिकको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छ ।

त्यस क्षेत्रमा सङ्क्रमितमध्ये ३३ जना निको भएका र तीन जनाको ज्यान गएको साउदीको जेद्दामा रहेको महावाणिज्यदूतावासका कार्यवहाक महावाणिज्यदूत रेवती पौडेलले जानकारी दिनुभयो ।

साउदी सरकारले यसअघि दिएको जानकारी अनुसार साउदीको जेद्दा र जजान लगायतका ठाउँमा गरी १ सय ४८ जना नेपाली नागरिकमा कोरोना सङ्क्रमण भएको छ । साथै साउदीको सबै क्षेत्रमा गरी ६ सय ७४ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको त्यहाँको स्वास्थ्य र विदेश मन्त्रालयले जानकारी दिएका पनि दूतावासले जनाएको छ ।

साउदीमा कोरोना सङ्क्रमण तिब्र रुपमा फैलिइरहेको छ । साउदीमा अहिलेसम्म ५२ हजार १६ जनामा सङ्क्रमण देखिएको छ । जसमध्ये २३ हजार ६६६ जना निको भएका छन् भने २८ हजार ४८ जनाको अस्पतालमा उपचार भइरहको छ । ३ सय २ जनाको ज्यान गएको छ ।

Top