इदको समयमा साउदीमा कर्फ्यु, भेटघाट नगर्न दूतावासको आग्रह Abroad News by Remit Khabar - 18/05/20200 काठमाण्डौ – मुस्लिम धर्मावलम्वीको महान पर्व इदको समयमा साउदी अरबमा कर्फ्यु लाग्ने भएको छ। साउदीको गृह मन्त्रालयले ईदको समयमा हुने जमघटलाई कम गरी कोरोना नियन्त्रण गर्ने उद्देश्यले मे २३ देखि २७ सम्म २४ घण्टा कर्फ्येु लागू गर्ने निर्णय गरेको हो। कर्फ्येु उल्लङ्घन गर्नेलाई जरिवाना समेत तोकिएको साउदीमा रहेको नेपाली महावाणिज्य दूतावासले जनाएको छ । यस समयमा आफूलाई चाहिने आवश्यक वस्तु तथा खाद्यान्न पहिले नै खरीद गरी कर्फ्यु समयको पूर्ण पालना गर्न साउदीमा रहेका नेपाली श्रमिकलाई दूतावासको अनुरोध छ । श्रमिकहरुको आवास क्षेत्रमा कोरोना सङ्क्रमण बढी फैलिएको पाइएकोले गएका वर्षहरुमा जस्तो जमघट वा भेटघाट नगर्न पनि दूतावासले सबैलाई सूचित गरेको छ । एक कम्पनीको आवासबाट अर्को कम्पनीको आवासमा आवतजावत गर्न साउदी सरकारले निरुत्साहन गरेका कारण त्यहाँ रहेका नेपालीहरुलाई पनि त्यसो नगर्न दूतावासको अनुरोध छ । यस्तै कोरोनाबाट संक्रमित वा लक्षण देखिएका तर आईसोलेसन र क्वरेण्टीनमा नियम पालना नगर्ने बिरामीलाई साउदी सरकारले जरिवाना तोकेको हुँदा त्यसको पालना गर्न पनि दूतावासले सबैमा आग्रह गरेको छ ।