जापानको अर्थतन्त्र मन्दीतर्फ, अमेरिका र युरोपमा चहलपहल बढ्न थाल्यो

काठमाडौं : जापानको अर्थतन्त्र मन्दीतर्फ उन्मुख भएको छ विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानमा चालु आर्थिक वर्षको प्रथम त्रैमासको वित्तीय सूचकरु खस्किएको छ । कोरोना भाइरसका कारण त्यहाँ पेशा तथा व्यवसाय र सेवा क्षेत्रहरु ठप्पप्रायः रहेका छन् । तर अमेरिका र युरोपमा भने कोरोना भाइरसको खोप निर्माण तत्काल सम्भव नभएपछि जोखिम लिएरै भए पनि आफ्ना मुलुकमा जारी लक डाउन र प्रतिबन्धहरुमा सहजीकरण गर्न थालेका छन् ।

जापानको प्रधानमन्त्री कार्यालयले सोमबार मुलुकको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.४ प्रतिशत रहने पूर्वानुमान गरेको छ । कार्यालयले आगामी दिनमा जीडीपी अझै तल झर्ने बताएको छ । जापानको व्यापार चीन र संयुक्त राज्य अमेरिकामाथि बढी नै निर्भर भएकाले पनि अर्थतन्त्र खुम्चिएको हो ।

निकै समस्यामा परेको इटालीका प्रधानमन्त्री जिसेप कोन्टेले सोमबार मुलुकका रेस्टुराँ, बारहरु खुला गर्ने बताएका छन् । इटालीमा यी सेवा खुला गर्न केही हप्ता लाग्ने बताइए पनि प्रधानमन्त्री कोन्टेले परिस्थितिमा नाटकीय सुधार आएको बताउँदै तोकिएको समयावधि अघि नै यी सेवा खुला गर्न आदेश दिएका छन् ।
विश्वका अरु मुलुकका सरकारहरु सहित अमेरिकाका धेरै राज्यले कोरोना भाइरसका कारण जारी लक डाउनमा सहजीकरण तथा जनजीवन खुला गर्न संघर्षरत छन् । संयुक्त राज्य अमेरिकाका धेरै राज्यका बारहरु, रेस्टुराँहरुमा मानिसको ठूलो भीडभाड देखिएको छ । उनीहरुले राज्यहरुले जारी गरेका सामाजिक दूरी समेतका नियमहरु बेवास्ता गरेको पाइएको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले कोरोना भाइरसको खोप सम्भवतः कहिल्यै बनाउन नसकिने आइतबार बताएका छन् । विश्वभर खोप बनाउन प्रयास भइरहे पनि यो सम्भव देखिन्न, प्रधानमन्त्री जोन्सनले भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्र र जनजीवनलाई जतिसक्दो चाँडो सहज तुल्याइने बताएका छन् । उनले एनबीसी टेलिभिजनलाई प्रतिक्रिया दिँदै भने, “हामी खोप बनाउने, उपचार गर्नेतर्फ विचार गरिरहेकै छौं, तर यी कुराहरु निकै जटिल छन् ।”

राष्ट्रपति ट्रम्पका वरिष्ठ आर्थिक सल्लाहकार पिटर नाभारोले कोरोना भाइरस महामारीका बारेमा अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पर्याप्त अध्ययन गर्न नसकेको बताएका छन् ।

यसैबीच, भारतमा एक दिन ५ हजारभन्दा बढी नयाँ कोरोना संक्रमित देखिएका छन् भने १५७ जनाको ज्यान गएको छ । एसियाली मुलुकमै चीनपछि भारतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् । कोविड–१९ का कारण भारतमा कुल मृतक संख्या ३ हजार नाघेको छ ।

चीनमा सोमबार ७ जना नयाँ संक्रमित देखिएका छन् र पछिल्लो पटक समस्या देखिएको जिलिन प्रान्तमा सामाजिक दूरीका नियमहरुमा अझ कडाई गरिएको छ । कोरोना भाइरसको खासै समस्या नदेखिएको बेइजिङ सहित चीनका अन्य भागमा प्रतिबन्धहरु क्रमशः खुकुलो बनाईंदैछ । स्थानीय प्रशासनले प्रतिबन्धहरु खुकुलो बनाएपछि मानिसहरु मास्क नलगाई सडकमा देखिन थालेका छन् ।

Top