कोरोना भाइरस : खोप बनाइरहेको अमेरिकी कम्पनीले भन्याे– सुरुवाती नतिजा आशाजनक

काठमाण्डौ – विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको उपचार औषधि खोज्ने प्रयास निकै द्रुत गतिमा अघि बढिरहेको छ ।

यही सन्दर्भमा अमेरिकाको एक कम्पनीले कोरोनाको खोप बनाउने आफ्नो प्रयासको सुरुवाती नतिजा निकै उत्साहजनक भएको दावी गरेको छ । अहिलेसम्म प्राप्त नजिताको आधारमा मानव परीक्षणका लागि यो खोप सुरक्षित प्रतित भइरहेको कम्पनीले जनाएको छ ।

अमेरिकाको जैविक प्राविधिक कम्पनी मोडर्नाले यो खोप विकसित गरेको हो । न्युयोर्क टाइम्समा छापिएको खबर अनुसार मोडर्ना नामक कम्पनीले मानिसमा परीक्षण गरिने पहिलो कोरोना भाइरसको खोप सुरक्षित प्रतित भइरहेको जनाएको छ । खोपको सुरुवाती परीक्षण आशाजनक छ ।

खोपको परीक्षणको परिणाम आठ जना स्वस्थ स्वयंसेवीहरुमा गरिएको परीक्षणमा आधारित भएको कम्पनीले जनाएको छ । यस क्रममा हरेक स्वयंसेवीलाई यो खोपको दुई दुई मात्रा दिइएको थियो । कम्पनीले यो परीक्षण मार्च महिनाबाट सुरु गरेको थियो ।

खोपको मात्रा दिइएकाको शरीरमा एन्टिबडी बनेको कम्पनीले जनाएको छ । त्यो एन्टिबडीलाई प्रयोगशालामा परीक्षण गर्दा त्यसले भाइरसको प्रतिरुप बन्नबाट रोक्न सक्षम देखिएको थियो । त्यसपछि कोरोना भाइरसको सङ्क्रमणबाट निको भएकाको एन्टिबडीसँग यो एन्टिबडी मिलाइएको थियो ।

मोडर्ना कम्पनीले आफ्नो खोप परीक्षणको दोस्रो चरणमा ६ सय जनालाई सहभागी गराउने जनाएको छ, जुन प्रक्रिया चाँडै नै सुरु हुने जनाइएको छ । त्यसपछि खोप परीक्षणको तेस्रो चरण जुलाईमा सुरु हुने छ, जसमा हजारौँ जनालाई समावेश गराइनेछ ।

अमेरिकामा औषधिलाई अनुमति दिने संस्था फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन एफडीएले मोडर्ना कम्पनीलाई खोप परीक्षणको दोस्रो चरण अघि बढाउन अनुमति दिएको छ ।

Top