राष्ट्र बैंकले बैंकहरूबाट सिलबन्दी भएको बाकसमा मात्रै नगद लिने, सोही दिन गणना नगर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कर्मचारीलाई घरबाटै काम गर्न स्वीकृति प्रदान गरेको छ । लकडाउनको अनिश्चिततालाई मध्यनजर गरी राष्ट्र बैंकले कामको प्रकृतिअनुसार कर्मचारीलाई घरबाटै काम गर्न स्वीकृति प्रदान गरेको हो ।

बैंकको जनशक्ति व्यवस्थापन विभागले केन्द्रीय बैंक सेवा सञ्चालन मार्गदर्शन २०७७ जारी गर्दै राष्ट्र बैंकले कोरोना भाइरसबाट सुरक्षित रहेर आफ्नो अत्यावश्यक सेवालाई निरन्तरता दिने गरी ४२ बुँदे मार्गदर्शन जारी गरेको छ ।

राष्ट्र बैंकको सेवा सञ्चालन मार्गदर्शनमा कोरोना भाइरसको (कोभिड–१९) महामारीमा सुरक्षित तवरबाट बैंकले सम्पादन गर्नुपर्ने कार्य सञ्चालन गरी सेवालाई निरन्तरता दिन र नेपाल सरकारबाट उक्त महामारीको जोखिम न्यूनीकरणका लागि गरेको बन्दा बन्दाबन्दीको अवस्थालाई मध्यनजर गर्दै आफ्ना कर्मचारी, सेवाग्राही तथा सरोकारवालाको स्वास्थ्यमा पर्नसक्ने जोखिमलाई न्यूनीकरण गर्न उक्त मार्गदर्शन जारी गरिएको हो ।

राष्ट्र बैंकले विभाग, कार्यालय, महाशाखा र इकाईको कार्यलाई निरन्तरता दिने र जिम्मेवारी सम्बन्धित विभाग प्रमुखलाई नै दिने मार्गदर्शनमा उल्लेख गरेको छ । यस्तै घरबाटै काम गर्ने कर्मचारीले भने विभागीय प्रमुखको सम्पर्कमा निरन्तर रहनुपर्नेछ ।

कार्यालयमा खटाइने कर्मचारीलाई ६/६ दिनको रुटिङ मिलाउनु पर्ने र कार्यालयमा अनिवार्य रूपमा माक्स, पन्जाको प्रयोग गर्नु पर्नेछ । साथै १००.४ डिग्रीभन्दा बढी ज्वरो आएमा, रुघा खोकी तथा श्वास फेर्न गाह्रो भएमा तुरुन्त स्वास्थ्य केन्द्रमा सम्पर्क गरी आरडीटी/पीसीआर परीक्षण गराउनुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

त्यस्तै कोरोना भाइरस फैलिन नदिन राष्ट्र बैंकले सुरक्षा सतर्कतामा समेत विशेष जोड दिएको छ । प्रत्येक कार्यालयमा अनिवार्य रूपमा तापक्रम मापन गर्ने इन्फ्रारेड थर्मोमिटरको व्यवस्था गर्नुपर्ने छ भने बैंकको प्रवेशद्वारमा खटिने सुरक्षा समूहका कर्मचारीलाई सकेसम्म अनिवार्य पीपीई लगाउन र त्यसको सुविधा नभए एन ९५ मास्क लगाउन राष्ट्र बैकले निर्देशन गरेको छ ।

त्यस्तै बैंक वित्तीय संस्थाबाट नगद दाखिला बुझिलिने सम्बन्धमा सुरुमा शिलबन्दी बाक्सा नै लिने तर केही दिनपछि मात्र गणना गर्नुपर्ने मार्गदर्शनमा उल्लेख गरिएको छ । दाखिला प्राप्त हुने नोट गणना गर्नुअघि संक्रमणरहित बनाउन नोटमा स्प्रे गर्नलाई राष्ट्र बैंकले निर्देशन गरेको छ ।

अतिआवश्यक भएमात्र प्रत्यक्ष बैठक बस्‍ने अन्यथा भर्चुअल मिटिङलाई प्राथमिकता दिनुपर्नेछ । बैंठक गर्दा डब्ल्यूएचओको मापदण्डलाई पालना गरेर मात्र बैठक सम्पन्न गर्नु पर्नेछ ।

लकडाउनका बेलामा पनि बैंकिङ कार्यालय, मुद्रा व्यवस्थापन विभाग र प्रदेशस्थित कार्यालयबाट गरिने फन्ड ट्रान्सफर, सरकारी कारोबार, चेक भुक्तानी तथा नगद जम्मा गर्ने कार्यलाई निरन्तरता दिनुपर्ने राष्ट्र बैंकले निर्देशन गरेको छ ।

Top