सेयर बजार अब कहिले खुल्ला ?

काठमाडौं : नेपाल धितोपत्र बोर्डले दुई दिन खोलेर पुनः बन्द गराएको सेयर बजार अब कहिले खुल्छ भन्ने ‘अनिश्चित’ भएको छ। अहिले निश्चित मापदण्डभित्र रहेर सेयर बजार खोल्ने र लकडाउनकै समयमा विद्युतीय कारोबारलाई प्रश्रय दिनुको साटो बजार बन्द गरेर बसेको कतिपय लगानीकर्ता र ब्रोकरले आरोप लगाएका छन्। यद्यपि, सोमबार मन्त्रिपरिषद्ले लकडाउनबारे गर्ने निर्णय कुरेर बोर्ड बसेको छ।

‘यसअघि मन्त्रिपरिषद्ले पनि धितोपत्र बजार खुलाउने निर्णय गरेको थियो। हामीले पनि बिस्तारै सहज हुने आशामा बजार खोल्न निर्देशन दिएका थियौं’, नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी भन्छन्। उनले दुई दिन बजार खुलाएपछि सरकारले लकडाउनलाई कडा पर्ने भनेको र त्यसैकारण बजार पुनः बन्द गर्नुपरेको बताए।

गिरीका अनुसार अब सरकारले बन्दाबन्दीलाई लम्ब्याउँदासम्म सेयर बजारमा पुनः कारोबार सूचारु हुने सम्भावना कम छ। धितोपत्र दलालको संगठन स्टक ब्रोकर्स एसोसिएसनले नेप्सेमा दैनिक कारोबारमा ४० देखि ४५ प्रतिशत अनलाइनबाट हुन थालेको बताए पनि प्रवक्ता गिरीले ३० देखि ३५ प्रतिशतमात्रै अनलाइन कारोबार हुँदै आएको बताए। ‘६०–६५ प्रतिशत अनलाइनबाट कारोबार हुने गरेको भए लकडाउनमा पनि बजार खोल्न सकिन्थ्यो, तर अनलाइन कारोबारमा धेरै लगानीकर्ता जोडिनै बाँकी छ’, उनले भने।

ब्रोकरले भने अहिले बजार बन्द गर्नुको साटो निश्चित शर्तमा सञ्चालन गर्न दिएको भए लगानीकर्तालाई अनलाइन कारोबारमा अभ्यस्त बनाउन सघाउ पुग्ने बताउँछन्। ‘२ प्रतिशत घट्दा बजार बन्द गर्ने व्यवस्था पनि हटाएर बजार खोल्नुपर्छ’, एक ब्रोकर भन्छन्, ‘आधाघण्टामै बजार बन्द हुने अवस्थाले बजारप्रतिको त्रासमात्रै बढाउँछ।’ अहिले संसारका प्रमुख सेयर बजार त्यहाँका बन्दाबन्दीका बाबजुद सञ्चालनमा छन्। श्रीलंकाले केही दिन अघिदेखि सेयर बजार पुनः सूचारु गराएको छ। ‘तर बंगलादेशले अझै खोलेको छैन’, प्रवक्ता गिरी भन्छन्।

Top